तरकारी खेतीमा सक्रिय थलिङका महिला

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर ४ २០७७

बागलुङको गल्कोट नगरपालिका वडा नं. १ दुदीलाभाटी थलिङका महिलाहरु सामुहिक तरकारी खेतीमा सक्रिय भएका छन् ।
कानुनी रुपमा सम्वन्धित निकायमा प्रगति एकीकृत कृषि तथा पशुपालन समहु दर्ता गरि थलिङका महिलाहरु सामुहिक तरकारी खेतीमा जुटेका हुन् ।
स्थानिय रुपमै तरकारी उत्पादन गरि आत्मनिर्भर बन्ने उद्देश्यले १५ जना महिलाहरु संगठित भई स्थानियवासी झमबहादुर खत्री, युवराज सुवेदी र बलबहादुर खत्रीको जग्गा भाडामा लिएर तरकारी उत्पादनको क्षेत्रमा अगाडि बढेको समुहका अध्यक्ष हरिमाया सुवेदीले बताउनुभयो ।
मासिक ३ हजार रुपैया भाडा तिर्ने सम्झौता ति जग्गामा गरि लसुन, केराउ, रातो मुला, धनिया, काउली, बन्दा, सिमी, गाजर, आलु लगाएतका तरकारी खेती शुरु गरिएको जानकारी दिदै अध्यक्ष सुवेदीले बजारीकरणका लागि केहि समस्या भएकाले स्थानिय सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
हाल गल्कोटको मुख्य बजार हटिया र दुदिलाभाटीमा मात्र तरकारी खपत हुने गरेकाले सदरमुकाम लगाएतका क्षेत्रमा पनि तरकारी पु¥याउनका लागि स्थानिय सरकारले भुमिका निर्वाह गर्न सकेमा महिलाहरु अझ बढि उत्साहित हुने समुहका सचिव पुष्पा सुवेदीले बताउनुभयो ।
पहिलो सिजनमा उत्पादन भएको रातो मुला २५ केजी स्थानिय रुपमै ५० रुपैया केजिको दरमा र ४० केजी सिमि ८० रुपैयाको दरमा बिक्रि गरेका महिलाहरुले वडावाट बिउ खरिदका लागि ५ हजार मात्र प्राप्त भएको र तरकारी खेतीका लागि समुहवाट करिव ७० हजार खर्च भएको बताएका छन् ।
मासिक रुपमा प्रति व्यक्ति १ सय रुपैया संकलन गरि समुह संचालन गरेका महिलाहरुले तरकारीमा गोडमेल र पानी लगाउनका लागि पनि पालो बाढेर काम गर्दै आएका छन् ।