कोरोना कहर बीच बागलुङमा मनाइयो छापो हाल्ने पर्व मनाईयो

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक २८ २០७७

कोरोना कहरका बीच बागलुङको ताराखोला गाउँपालिका–२ का अर्गली मगरहरुले छापो हाल्ने पर्व मनाएका छन् ।
बिश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण यसपालि पाहुना नडाकी घरपरिवार मिलेर पर्व मनाएको उनीहरूले बताएका छन् ।
हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने, २५ गते पितृकार्य गरेर २६ गते छापो हाल्ने पुरानो चलन भएकाले कोरोना कहरका बिचमा पनि पर्व मनाएको उनिहरुको भनाई रहेको छ । यो पर्व मनाएपछि वर्षभरिका लागि काजक्रिया छुट हुने, विवाह लगायत संस्कार गर्न बाटो खुल्ने स्थानीय भीमबहादुर घर्तीले बताउनुभयो ।
ताराखोलामा कात्तिक अन्तिम साता पितृकार्य सकेपछि हिउँदे खेती सुरु गर्ने गरिन्छ । पर्वकै लागि अन्य रहेका युवायुवती गाउँ आउँने चलन रहेको छ । बूढापाकाले साझा बनाइएको संखुवारीमा जौ छरेपछि युवायुवतीले सामूहिक रूपमा खन्ने गर्दछन् ।
यसरी खन्न आएका युवायुवतीले राम्रो वरवधू पाउने स्थानीयको विश्वास रहेको छ । बूढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउने विश्वास पनि गरिदै आएको स्थानीय कुलबहादुर घर्तीले बताउनुभयो ।
सयौं वर्ष पहिले पाल्पाको अर्गलीबाट बसाइँ सरेर आएर मगरहरू बसोबास गर्न थालेपछि यो गाउँको नामसमेत अर्गल रहेको किंवदन्ती रहेको छ । त्यसरी आएका मगरहरूले खोरिया फाँडेर झारपात पोलेको सम्झनामा हरेक वर्ष कात्तिक अन्तिम साता भुस पोल्ने मेला गरिँदै आएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।