रेडियोमा बोल्ने भुत चढ्दा

कृष्ण जिसी / प्रकाशित मिति :
बिहिबार, कार्तिक २७ २០७७

मेरा स्वर्गीय हजुरवाको एउटा सपनाथियो कि नातिले सरकारी जागिर खाओस उसलाई पनि पछी सम्म ढुक्क हुने अनि सधैभरि दुखै दःुखमा जीवन विताएका मेरा हजुरबुवा र निरक्षर मेरा बाबाआमालाई पनि नियमित आम्दानी भएपछी पैसोको मुख देख्न पाइने । म मुन्तिरका भाइहरु पनि दाइले कमाउन थालेपछि उच्च अध्ययनका लागी श्रोत जुट्ने । हजुरबुवाको त्यो चाहना लगभग पुरा हुनै थालेको थियो जव वि.सं. २०५० सालदेखि ५ वर्ष सम्म खाएको निजि विद्यालयको जागिर छोडेर सरकारी विद्यालयमा निमावितहको स्थायी दरबन्दीमा सरकारी शिक्षकको जागिर शुरुवात गरेको थिएँ । ठ्याक्कै ४ वर्ष पछी वि.सं. २०५९ सालमा मावि दरबन्दी पाएपछी तलव पनि ह्वातत्तै बढेको थियो । दुइटा दशैमा चौमासिक अनि दशैं भत्ता गर्दा टन्नै पैसा हुने बाबाआमाको हातमा पैसा हाल्दिँदा टप्प खस्ने हर्षका आँसु र हजुरबुवाको गद्गद् अनुहार त्यति बेला चौपट भयो जव २०६० सालमा बाग्लुङ्गको धौलागिरि एफएमले परिक्षण प्रसारण शुरु गर्नु अनि मैले जागिर छोडेर तालिम लिन जान्छु भन्ने उद्घोष गरें ।
मेरो त्यो भनाइले हजुरबुवाको अनुहार एक्कासी मलिन भएको त्यो दिनले मलाइ अझै पनि झस्काइरहन्छ । २०६० असोजमा दशैँ विदापछी म सिधै बाग्लुंग हानिएँ। स्कुलबाट खबर आयो कि त हाजिर हुनुस कि राजिनामा दिनुस । मैले सिधै राजिनामापत्र पठाईदिएँ । किनकि तालिमबाट म कार्यक्रम प्रस्तोताको रुपमा छनोट भैसकेको थिएँ। मेरा हजुरबुवालाई त्यो थाहा थिएन एक्कासी रेडियोबाट मेरो आवाज गुन्जन थालेपछी उहाँले न त् हर्ष न त दुख नै व्यक्त गर्नु भयो रे आमाले भन्नु भएको । तर बाबाआमा भने खुसि हुनु हुन्थ्यो ।
बाबाआमा पनि त्यति बेला सम्म खुसि हुनुभयो जव मैले पैसा दिन सकें । सरकारी तलव मासिक १२ हजार रुपिया थियो तर रेडियो भनेको निजि संस्थाथियो त्यहि पनि भर्खरै भर्खरै स्थापना भएको । मेरो सम्झौता भएको थियो ४ हजार रुपियाँ मासिक तलवमा । त्यसैले खाना कोठा भाडा अवभन्नुस एक महिना पछी जव तलव बुझियो त्यसपछि साह्रै नमज्जा लाग्यो श्रीमति छोरी अनि बाबुआमा लगायतको परिवार अनि मेरो कमाइ । आर्थिक रुपमा त गर्ल्याम्मै पछारीइ सकेको थिए ँ। त्यै पनि म खासै बेखुशी थिइन किनकि त्यो मेरो रोजाइको क्षेत्र थियो । मैले नै होश हवासमा गरेको निर्णय थियो । त्यसैले मलाइ केहि त हुन्छ भन्ने आशा चाहिँ थियो ।
रेडियोमा काम गर्न थालेपछी यति व्यस्त भइयो कि घरमा पनि खासै समय दिन सकिएन । साथीभाईहरु संग केहि टाढा हुनपुगियो । किन कि यो क्षेत्र अत्यन्तै व्यस्त रहनु पर्नेसमय संग चल्नु पर्ने । एक एक सेकेन्डको अत्यन्तै ख्याल गर्नु पर्ने अनि हेलाच्क्र्यांइ पनि गर्न भएको थिएन । शुन्यबाट शुरुवात भएको थियो मेरो करियर । स्क्रिप्ट लेखन,अभ्यास, रेकर्डिंङ अनि तयारी यसमा अत्यन्तै सजग र चुस्तएवं खरो उतार्नुपर्ने हुन्थ्यो आफुलाई । मुस्किलले ३ महिना पछी समय निकालेर म घरमा पुगें । त्यति बेलाजिप चढेर बेनीलाग्दा म चढेको गाडीमा रेडियो धौलागिरी नै बजेको थियो । त्यो पनि आफ्नै रेकर्डेड कार्यक्रम अनि जिपका यात्रुको कुराकानी। मेरो छाती ढक्क फुल्यो धौलागिरीको पहिलो रेडियो भएका कारणले सबैमा यसको चार्म निकै थियो । कुरा सुन्दा आफु निकै ठुलै सेलीब्रेटी भइएछ कि भन्ने लाग्यो । जीपमा यात्रा गर्दा आफ्नो बारेमा यसरी कुरा गरेको सुन्दा कसको मन खुशीनहोला र?घरमा पुगेपछी सधैभरि चिनेका संगै उठबस गरेका साथिहरु पनी बडो सम्मान गर्ने । छरछिमेकमा सबैले घेरा हाल्दा बडो आनन्द लाग्यो । यो नाम यो ख्याती पैसासंग तुलना गर्न नसक्ने कुरा हो भन्ने लाग्थ्यो ।
यसरी नै रेडियो धौलागिरीकादिनहरु करिव ४ बर्ष सम्म व्यतित भएका हुन् । अनुभवका फेहरिस्त यसरी केहि पेजमा सकिने वाला छैनन् । उत्साह,खुशी,उमंग, कडा मेहेनेत, संघषर्, तनाव, खिचातानीका बीच व्यतित भएका हुन् मेरा ४ बर्षे रेडियोका अनुभव र भोगाइ ।
संक्षेपिकरण गर्दा यसरी भन्न सकिन्छ कि धौलागिरि अंचलमा स्थापना भएको पहिलो एफ एम यसले सुचना, संचार, गीत संगीत,साहित्यमा यस्तो वहार ल्याएको हो जुन धौलागिरीको इतिहाँसमा सुनौलो अक्षरले लेखिएका छन् । रेडियो सुनिने धौलागिरीका चारै जिल्ला यसका आसपासका जिल्लामा गठन भएका श्रोताक्लव, साहित्यिक समुह, ति साहित्यिक समुहले प्रकाशन गर्ने साहित्यिक पुस्तक, बुलेटिन र पत्रिका जसका कारणले धौलागिरि क्षेत्रमा यति धेरै साहित्यिक गतिबिधि हुने गर्थे । अनि गीत गजल कविता बेसरी जगमगाएको थियो । गीत संगीतका त कुरै नगरौं यो क्षेत्र त्यसैपनि लोक गीत संगीतको खानीझनै रेडियोका कारणले गीत रेकर्डिग गर्ने यस्तो लहर आयो यस क्षेत्रका कुना कुनामा रहेका प्रतिभाहरुले आफुलाई राष्ट्रिय स्तरको कलाकारिताको पंक्तिमा उभ्याई सकेका छन् । शिक्षा र सचेतनाको क्षेत्रमा रेडियोको ठुलो योगदान रहेको छ ।
द्वन्दकालमा राज्यले मिडियामाथि लगाएको अंकुस र त्यसमा उनिएका हामी मिडियाकर्मी । त्यो बेलाको व्यथा र चोट, त्यो चोटबाट मुक्तिपाउन रेडियोबाट गरिएका हाम्रा आन्दोलन स्मरणयोग्य छन् । ६२÷ ६३ को आन्दोलनमा रेडियोको माध्यमबाट हामीले खेलेको भूमिका कहिँकतै मुल्यांकन भए कि भएनन्, देखिएकी देखिएनन, लेखिएकी लेखिएनन तर एउटा बर्गले रेडियोको त्यो भूमिकालाई सधै प्रशंसा गरिरहन्छ ।
मेरो व्यक्तिगत अनुभव र बुझाइमा मैले रेडियो धौलागीरिलाई मेरो जीवनको जननी नै मान्छु । यसकै माध्यमबाट मैले आफ्नो व्यक्तित्व र क्षमता अभिबृद्धि गर्न पाएको हुँ। आर्थिक रुपमा परिवारको जिम्मेवार व्यक्ति हुँदा खाँदाको जागिर छोडेर परिवारको सपना लत्याउदै स्थायी शिक्षकको जागिर छोडेर रेडियोको भुत चढेको उपमा पाएको व्यक्ति र त्यहाँबाट शुरुवात गरेको मेरो मिडियाको यात्रा यहाँ लेखेर ब्यक्त गर्न सबै कुरा सम्भव हुदैन । तर अन्त्यमा फेरी भन्छु आर्थिक रुपमा मैले एउटा त्याग गरेर व्यक्तित्व र क्षमता अभिबृद्धि गर्न रेडियो मेरो पहिलो प्ल्याटफर्म नै हो ।
तीे ४ बर्षका अनन्यमित्रहरु, संचालक, प्रशासनिक टिम सबैलाई अझै पनि हृदयको कुनामा सुरक्षित गरिरहेको छु र सम्झिरहन्छु । म अझै पनि धौलागिरी एफ एम सुनिरहन्छु । बागलुंग जाँदा एक पटक एफएममा पुग्छु र गेटमा यो शिर राखेर ढोग्छु र आनन्दको अनुभूति गर्छु । धौलागिरीको पहिलो एफ एम धौलागिरि एफ एम, थुप्रै एफ एमहरुको बिचमा अझै पनि पहिलो नै छ । खुशी लाग्छ, गर्व लाग्छ मेरो जननी संचार क्षेत्रको अग्रतालाई कायम राख्न सफल रहेकोमा ……

कृष्ण जिसी
पूर्व कार्यक्रम संयोजक
धौलागिरि एफएम