रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, कार्तिक २५ २០७७

बागलुङको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ ।
ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथाने बालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो ।
किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने गरेका कारण यसको उत्पादनमा कमी आउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
किसानलाई प्रविधि, उपकरण र बीउको प्रबन्ध गरेर कोदो बालीको प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेको कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पूरा गरेर सामग्री दिने गरेको छ ।
हालसम्म त्यहाँका एक सय जना किसानले कोदो सुकाउनका लागि त्रिपाल पाएका छन् भने समूहमा १५ वटा कोदो, जौ र उवा झर्ने मेसिन वितरण गरिएको छ । त्यहाँका किसानले उत्पादन गरेको कोदो, काठमाडाँै, पोखरा, बुटवल लगायतका शहरसम्म पुग्ने गरेको छ ।
पारिवारिक हिसाबले बजार पस्ने कोदो, जौ र उवालाई व्यावसायिक बनाउनेगरी नगरपालिकाले उत्पादनमा सघाउन थालेको नगरप्रमुख देव कुमार नपालीको भनाई छ ।