अनुगमन उपसमितिद्धारा अस्पतालको अनुगमन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, कार्तिक २४ २០७७

संघिय संसद तथा स्वास्थ्य समिति अन्र्तगत कोभिड १९ सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितीले धौलागिरी अस्पताल बागलुङको अनुगमन गरेको छ ।
सांसद एबं अनुगमन समितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले अस्पतालमा कोरोना संक्रमित बिरामी र संक्रमण नभएका बिरामीको अवस्थाबारे अनुगमन गरेको हो ।
सो अवसरमा अनुगमन समितिका संयोजक श्रेष्ठले सरकारले कोभिड १९ सम्बन्धी चालेका कदमको अस्पतालमा कार्यान्वयन भए नभएको बारे अनुगमन गर्दै आएको बताउनुभयो । कोभिड महामारीमा कोभिड भन्दा नन्कोभिड बिरामीको अवस्था झन नाजुक हुनसक्ने भन्दै श्रेष्ठले दुबै खाले बिरामीको उपचार र रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
धौलागिरी अस्पताल बिकास समतिका अध्यक्ष केबी राना मगरले अस्पताल संचालनका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो । अस्पताल स्तरोन्नतीका लागि सरकारले रकम निकासा गरेपनि यसको कार्यान्वयन पक्ष फितलो र दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको ब्यवस्था गर्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि पोखरेलले अस्पतालमा पछिल्लो समय लक्षण सहितका कोभिडका बिरामी आउने क्रम बढेको बताउनुभयो । उहाँले बिरामीको संख्या बढ्दै जादा उपचारमा कठिनाई हुनसक्ने बताउनुभयो । अर्का डा. अभिषेक वाग्लेले आईसीयु र भेन्टिलेटर अनुसार अस्पतालमा जनशक्तिको अभाव हुदा उपचारमा समस्या उत्पन्न भएको बताउनुभएको थियो ।
अनुगमन समितिको संयोजक श्रेष्ठ सहित संघिय सांसद मनकुमारी केसी, अन्जना बिशंखे, नमीता कुमारी चौधरी, सरिता न्यौपाने समितिका सचिव पुष्पप्रकाश खनाल र नायव सुव्वा नारायण बस्नेत लगायतको टोलीले अनुगमन गरेको थियो । कार्यक्रमको संचालन अस्पतालक सुचना अधिकारी तिर्थराज गौतमले गर्नुभएको थियो ।