स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक २३ २០७७

समयमै मर्मत र निर्माण हुन नसक्दा बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ को निसीदेखि टोड्के जोड्ने झोलुङ्गे पुल जिर्ण बनेको छ ।
लामो समयदेखि पुल मर्मत र निर्माण हुन नसक्दा जिर्ण बनेपछि स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
छेउछाउका सबै जालीहरु चुडिएको र हिड्नका लागि प्रयोग गरिएका काठका फल्याकहरु समेत कुहिएका कारण स्थानीयवासीले जोखीम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । जिर्ण पुल निर्माण गर्ने तर्फ कसैको ध्यान नगएको स्थानीय खड्कबहादुर घर्तीले बताउनुभयो ।
बजारदेखि सामान ओसारपसार र जँगलदेखि निसी गाउँमा घाँस दाउरा ल्याउन निकै गाह्रो हुने गरेको उहाँको भनाई रहेको छ । पुल निर्माण तर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान नजाँदा स्थानीयले सास्ती खेप्नु परेको घर्तीले गुनासो गर्नुभयो ।
पुलको लठ्ठा बाहेक अरु सबै जीर्ण बनेको र लठ्ठा पनि पुरानो भएर खिइएकाले वारपार गर्दा पनि खोलामा खसिने डर हुन थालेको उहाँले बताउनुभयो । युवावुवतीहरु जसरी पनि वारपार गर्न सक्ने भएपनि भारीसँग वारपार गर्न र जेष्ठ नागरिक सहित बालबालिकालाई वारपार गर्न निकै गाह्रो भएको घर्तीले बताउनुभयो
पुल निर्माणमा कुनै पनि निकायको ध्यान नगएपछि स्थानीय युवाहरुको सक्रियतामा पुल निर्माणार्थ अभियान चलाउने स्थानीय कुम्बिर विकले बताउनुभयो । पुल निर्माण गर्न करिब २ लाख खर्च लाग्ने अनुमान गरिएको भनाइ रहेको छ ।