पर्यटक पर्खाइमा म्याग्दीको खयरभारानी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, कार्तिक २२ २០७७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ पाउद्धार गाउँको शिर तथा अन्नपूर्ण हिमालको फेदिमा रहेको ‘खयरभारानी’ ताल पर्यटकको पर्खाइमा छ ।
समुन्द्री सतहदेखि चार हजार ७ सय मिटर उचाइमा अवस्थित खयरभारानीको धार्मिकसँगै प्राकृतिक सौन्दर्यताका कारण पर्यटकीय सम्भावना रहेको छ ।
साउथ अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर भारानी ताल करिब एक हजार वर्ग मिटर क्षेत्रफलमा गोलो आकारमा फैलिएको छ । तीन हजार ६ सय ६० मिटरको उचाइमा रहेको खोपारा लेक प्रकृति प्रेमीहरुका लागि आर्कषक स्थलको रुपमा विकसित हुँदै गएपनि खोपाराहुँदै पुगिने खयरभारानी ओझेलमा छ ।
अन्नपूर्ण, धौलागीरी, माछापुच्छ्रे, मनास्लु रेञ्जका हिमाललाई नजिकबाट अवलोकन गर्नुका अलावा खयरबराही तालमा देखिने हिमालको छायाको दृष्य मनमोहक लाग्ने बेनीका सतिष श्रेष्ठले बताउनुभयो ।
खयरभारानी तलाउ र परिसरमा रहेको थानमा जनैपूर्णी पर्वमा मेला लाग्ने गर्दछ । अन्य समय यो क्षेत्र सुनसान हुन्छ । खयर भारानीको दर्शन र पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ ।
परापुर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किम्बदन्तीका आधारमा यस स्थानमा स्थानीयले मनोकामना पुरा हुने आशाका साथ भाकल गर्ने चलन छ ।