श्रेष्ठले तेस्रो कार्यकालका लागि केन्द्रिय सदस्यमा उम्मेदवारी

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक २१ २០७७

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा बागलुङका निर्माणकुमार श्रेष्ठ ‘बासु’ले उम्मेदवारी दिनु भएको छ ।
हाल केन्द्रीय सदस्य रहनु भएका श्रेष्ठले आगामी कार्यकालको लागि पनि उम्मेदवारी दिनु भएको हो । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डौंमा हुने ५४ महाधिवेशनको लागि आँफुले उम्मेदवारी दिएको भन्दै श्रेष्ठले मतदानका लागि व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।
बिहिबार बागलुङ उद्योग वाणिज्य संघसँगको भेटघाटमा श्रेष्ठले व्यवसायीको हितका लागि आँफुले गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो । बागलुङ उद्योग बाणिज्य संघले युवा व्यवसायी श्रेष्ठलाई निर्वाचनमा विजय गराउन अध्यक्ष युवराज राजभण्डारीको संयोजकत्वमा चुनाव प्रचारप्रसारमा समिति गठन गरेको छ ।
श्रेष्ठलाई विजय गराउन गण्डकी प्रदेशमा प्रचारप्रसारको लागि विभिन्न कार्यक्रम तय भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भैसक्नु भएका श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवार बन्नु भएको छ ।