नेकपा गलकोटको ध्यानाकर्षण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, कार्तिक २០ २០७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटिले गलकोट नगरपालिकाले जारी गरेको घर कायम तथा नक्सा पास सम्बन्धी सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा गलकोट नगरकमिटिले गलकोट नगरपालिकाले २०७७ भदौं २५ गते जारी गरेको घर कायम तथा नक्सापास सम्बन्धी सूचनाका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपा गलकोट नगर कमिटिका अध्यक्ष ललित श्रीसद्वारा जारी विज्ञप्तीमा चार बुँदामा माग सम्बोधन गर्न भनिएको छ । कोरोना महामारीमा रोजगारी गुमाइएको र आर्थिक संकट बढेको बेलामा सुचना जारी गरी आम नागरिकको ढाड सेक्न बढी रकम असुली गरीएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घर नक्सा ऐन पास गर्नुपूर्व निर्माण भएका घर कायम गर्न तथा नगरपालिका भित्र घर सुचीकृत गर्न दोहोरो कर कायम तत्काल खारेज पनि आग्रह गरिएको छ ।
नेकपा नगर कमिटिले पुराना घर कायम गर्न नक्सा बनाउने र पास गर्ने प्रकृया तत्कालै बन्द गर्न, अवैधानिक तरिकाले लिएको रकम फिर्ता गर्न, एउटै विषयमा दोहोरो कर नलिन र वडाको सिफरिसका आधारमा सहज ढंगले घर कायम गर्न माग गरेको छ ।