दरवाङका युवालाई गाउँघरमै रोजगारी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २០७७

म्याग्दीको मालिका गाउँपालिका दरवाङका युवाहरू सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरू संगठित भएर सामुहिक रुपमा स्वरोजगार बन्ने प्रयास गरेका हुन् ।
आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र काम लगाउने, फर्निचर, ग्रिल, मिस्चर उद्योग सञ्चालनका साथै कुखुरा र भैंसीपालनको तयारी गरेका दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।
१८ जना युवाहरू अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन् । उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरूलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो ।
नदी, पहिरो नियन्त्रण र सडक निर्माणमा आवश्यक पर्ने ग्याबिन जाली बुन्ने, ढलानमा प्रयोग हुने मिक्स्चर मेसिन चलाउन, ग्रिल र फर्निचर सम्बन्धी काम सिकेका छन् । स्थानीय कृषि सहकारी संस्थाबाट प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले ऋण लिएका उनीहरूले आवश्यक औजार खरिद गरेर सामूहिक उद्योग सञ्चालन गर्ने तयारीमा छन् ।
स्थानीय स्तरमा आवश्यक मजदुर पनि समूहमार्फत नै परिचालन गर्न थालेको आत्मनिर्भर युवा स्वरोजगार समूहका संयोजक गंगा रोकाले बताउनुभयो । कोरोनाका कारण स्थानीय आयोजनामा बाहिरका मजदुर नआउँदा सिप सिकेका ती युवाले काम र दाम पाएका छन् ।
मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मालिकामै कमाऔं, मालिकामै रमाऔं’ नारा सार्वजनिक गरेको छ । तर, नीतिअनुसारको बजेट विनियोजन र कार्यक्रम नबनाएकोप्रति युवाहरूले गुनासो गरेका छन् ।