तमानखोलामा ११ थान भरुवा बन्दुकसहित ११ पक्राउ

ढोरपाटनमा गोरु काट्दै गरेको अवस्थामा १० पक्राउ
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज २९ २០७७

पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्विर देखेपछि खानतलासीमा निस्केको इलाका प्रहरी कार्यालय बुर्तिबाङले मंगलबार राती गाउँभरी भरुवा बन्दुक रहेको फेला परेको हो ।
प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बन्दुकसहित नियन्त्रणमा लिईकाहरुको बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंकमा खानतलासी गरिरहेको छ । बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
‘मुचुल्का हुँदैछ नाम आईसकेको छैन्, भेटिएको ठाउँमा फोन लाग्दैन्’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भन्नुभयो ‘संख्या बढ्न सक्छ, अहिलेलाई अनौपचारिक रुपमा ११ जना नियन्त्रणमा आएको खबर छ ।’ बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं. २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उहाँको भनाई छ ।