पर्वतमा यात्रु सहायता कक्ष सञ्चालन ल्याईयो

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बिहिबार, असोज २९ २០७७

चाडबाडको बेलामा यात्रुहरूलाई पर्न सक्ने समस्यालाई केन्द्रित पर्वतका विभिन्न चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी, ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको सहकार्यमा ती कक्षहरू सञ्चलनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काका अनुसार, पोखराबाट पर्वत भित्रिने तथा पर्वतबाट बाहिरिने सवारीको लागि डिमुवामा तथा कुस्मा बजारको शिवालय चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आइसकेका छन् ।
यस्तै, म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारीलाई ध्यानमा राखेर पर्वतको जलजला गाउँपालिकास्थित मिलनचोकमा र जिल्लाको दक्षिणी क्षेत्रलाई ध्यानमा राखेर पैयूँ गाउँपालिकाको बजार क्षेत्रमा पनि तत्कालै सहायता कक्ष स्थापना गर्न लागिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले दसैँ, तिहार र छठ नजिकिएसँगै यात्रुहरूको चाप बढ्दा यात्रु र यातायात व्यवसायी विभिन्न समस्यामा पर्न सक्ने भएकोले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।
ट्राफिक प्रहरी प्रमुख खड्काले सहायता कक्षबाट यात्राका क्रममा आइपर्ने समस्याको सुनुवाइ र कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि सहयोगी भूमिका निभाउने जानकारी दिनुभयो । यात्राका क्रममा मास्क, सेनीटाइजरको प्रयोग, स्वास्थ्य सतर्कताका लागि तोकिएका मापदण्डको कार्यान्वयन गराउन प्रहरीले काम गर्ने उहाँको भनाई छ ।