‘पछुताउनुभन्दा बेलैमा सचेत बनौं’

स्वास्थ्यको एकिकृत वार्षिक समिक्षा सुरु
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असोज २८ २០७७

जिल्लामा भएका स्वास्थ्य गतिविधिको वार्षिक समिक्षा सदरमुकाममा सुरु भएको छ । स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷०७७ को जिल्ला स्तरीय वार्षिक प्रगती समिक्षा सुरु गरेको हो ।
मंगलबारदेखि सुरु भएको समिक्षामा जिल्लाका दशवटै स्थानीय तहमा भएका प्रगति विवरण पेश र कामको विषयमा समिक्षा हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सांसद इन्द्रलाल सापकोटाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्युनिकरणका लागि स्वास्थ्यकर्मीले खेलेको भुमिका निकै प्रशंसनिय रहेको बताउनुभयो ।
आम नागरिकमा बाहिर हिँड्दा अनिवार्य स्वास्थ्यका मापदण्ड अपनाउन बेवास्ता देखिएकाले पछि पछुताउनुभन्दा बेलैमा सचेत बन्न आग्रह गर्नुभएको छ । उहाँले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका निम्ती गण्डकी प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलगायतले अहिलेको परिश्थितिमा स्वास्थ्य क्षेत्र निकै संवेदनशिल रहेकोले सर्वसाधारण सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
दुई दिनसम्म चल्ने समिक्षा कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका वार्षिक गतिविधिबारे छलफल गरिने स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संयोजक, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी र जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल गैहसरकारी संस्थाको सहभागिता रहेको छ । कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाबारे स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी गराउनुभएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति बागलुङ संयोजक राजेन्द्र ढुंगानाको अध्यक्षता, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको स्वागत र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।