जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बानपामा अत्यावश्यकबाहेकका सेवा बन्द

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, असोज २६ २០७७

जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । सोमबारदेखि लागु हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो ।
समुदायस्तरमा कोरोना फैलिने जोखिमलाई ध्यानमा राखेर कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यक्रम संचालन स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार, स्वास्थ्यकर्मीको परामर्शमा नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह हुने छैन ।
अत्यावश्यक कामका लागि कार्यालय आउनेहरुलाई समेत अनिवार्य स्वास्थ्य मापदण्ड कायम गर्न नगरपालिकाले अनुरोध गरेको छ । ‘बजारक्षेत्रमा संक्रमण फैलिँदो छ’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भन्नुभयो– ‘चाडपर्व नजिकिदै गर्दा बढेको भीडमा सावधानी अपनाउन सकिएन भने अवस्था नियन्त्रण बाहिर जान्छ ।’
केही दिनअघि कोरोना नियन्त्रणमा खटिएका बागलुङ नगरपालिकाका एक जनप्रतिनिधि र एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि नगरका सबै शाखामा कन्ट्याक ट्रेसिङको काम चलिरहेको छ ।
यसैबीच, बागलुङ उद्योग वाणिज्य संघले उद्योग कलकारखाना, होटल रेष्टुरेन्ट, पसलहरुमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पलना गर्न आग्रह गरेको छ । चाडपर्वमा किनमेलमा ग्राहकको भीडभाड हुने र कोरोना संक्रमणको जोखिम कायम रहेको उल्लेख गर्दै सावधानी अपनाउन अपिल गरिएको महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।
बागलुङमा कुल ८ हजार ७२२ जनाको कोरोना परीक्षण गर्दा ५२५ जनामा संक्रमण देखिएको छ । तीमध्ये ३६७ जना निको भएका छन् । १ जनाको मृत्यु भएको छ । हाल ८५ जना क्वारेन्टाईनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।