मराङका पहिरो पीडितलाई ४ लाख २१ हजार सहयोग

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, असोज २५ २០७७

म्याग्दीको धवलागिरि गाउँपालिकाको मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयबासीले छिमेकी गाउँ मराङका पहिरो पीडितलाई ४ लाख बढी आर्थिक सहयोग गरेका छन् ।
सामाजिक अभियान्ता रविन्स ‘घरब्जा’ छन्त्यालको अगुवाईमा कतार, जापान, मेलेसिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारबासीबाट सहयोग संकलन गरि ४ लाख २१ हजार १ सय ९० सहयोग गरिएको हो ।
संकलित रकममध्ये मल्कबाङ हेल्थपोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले १० हजार सहयोग गर्नुभएको थियो । संकलित रकम शनिवार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताउनुभयो ।
राहत रकममध्ये मराङका २१ जना मृतकका आफन्तलाई १२ हजारको दरले राहत उपलब्ध गराईको छ । बाढी–पहिरोले पूर्णक्षति भएका १३ घरधुरीलाई ७ हजारको दरले र आंशिक क्षति भएका १२ जनाललाई ५ हजारको दरले राहत दिईएको थियो ।
त्यसैगरी, प्रभावित क्षेत्रमा अपांगता भएका ५ जनालाई १५ सयका दरले सहयोग गरिएको छ । वितरण गरिएको सहयोग रकम जुटाउन मल्कबाङ घर भएर प्रवासमा रहेका युवा रविन्स ‘घरब्जा’ छन्त्यालले समन्वय गर्नुभएको थियो ।
छन्त्यालको सक्रियतामा कतारबाट १ लाख ७८ हजार ८, धन छन्त्याललको सक्रियतामा अष्टेलियामा १ लाख १ सय ९०, देवेन्द्र छन्त्याल र चित्र छन्त्यालको सक्रियतामा जापानबाट १ लाख २२ हजार ३ सय ९३ रुपैयाँ सहयोग संकलन भएको थियो ।