अन्नपूर्णको फलातेमा बन्यो बिउ संकलन केन्द्र

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शुक्रबार, असोज २३ २០७७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ फलातेमा बिउ संकलन र भण्डारण भवन निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा तथा स्थानीय कृषकको श्रमदानमा भवन निर्माण गरिएको हो ।
१ कोठे सभाहलसहितको भवनमा फलातेका कृषकले उत्पादन गरेको रायो सागको बिउ संकलन र भण्डारण गरिएको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताउनुभयो । भवन निर्माणका लागि गाउँपालिकाले ९ लाख रुपैयाँ विनियोजन गरेको थियो भने कृषकहरूले ५ लाखको श्रमदान गरेका थिए ।
कोल्ड स्टोरसमेत बनाउन सकिने भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । कृषकले बिउ, तरकारी र आलु संकलन तथा भण्डारणका अतिरिक्त सीप मूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सकिने छ ।