बागलुङ जेसीजले जेसीज सप्ताह गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असोज २३ २០७७

बागलुङ जेसीजले विभिन्न रचनात्मक कार्यक्रमसहित जेसीज सप्ताह गर्ने भएको छ । जेसीजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि असोज २३ गतेदेखि २९ गतेसम्म बिभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्न लागेको जानकारी गराएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै सप्ताहका मुल संयोजक तथा कार्यकारीणी उपाध्यक्ष सौरभ श्रेष्ठले सप्ताहको पहिलो दिन २३ गते शुक्रबार उद्घाटन तथा रक्तदान कार्यक्रम, दोस्रो दिन २४ गते शनिबार संसदिय बैठक संचालन विधि सम्बन्धी तालिम, तेस्रो दिन २५ गते आइतबार मालढुंगामा बोर्ड व्यवस्थापनको कार्यक्रम गरिने बताउनुभयो ।
त्यसैगरी, चौथो दिन २६ गते सोमबार स्वर्गिय प्रगति स्मृति कोषवाट सामग्री बितरण, पाँचौ दिन २७ गते मंगलबार धौलागिरि एफएमबाट गजल प्रतियोगिता, छैटौ दिन २८ गते बुधबार जुम माध्यमबाट अन्तरक्रिया र सातौ दिन २९ गते बिहिबार युवा सम्मान तथा समापन कार्यक्रम गरिने श्रेष्ठको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ बागलुङका सचिव राम थापाले कोरोनाको बिषम परिस्थितिमा सचेत र जागरुक भएर सप्ताह सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता, निवर्तमान अध्यक्ष एञ्जिल शाक्यको स्वागत र महासचिव आनन्द रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।