बसाईसराईले गलकोट नगरपालिकाका बस्तीहरु रित्तिदै

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असोज २१ २០७७

बागलुङको गलकोट नगरपालिकाका विभिन्न स्थानका बस्तीहरु बसाइसराईका कारण खाली हुदै गईरहेका छन् ।
सेवा सुविधा खोज्दै शहर केन्द्रित हुने र वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने क्रम बढ्न थालेसँगै गाँउघरका घरहरु खाली हँुदै गएका हुन् । बस्ती खाली हुदै गएपछि खेतीयोग्य जमिन झाडीमा परिणत हुँदै गएका छन् ।
गलकोट नगरपालिका वडा नम्वर ८ काँडेबासको सिस्नेरीमा पनि विगतको तुलनामा बसाईसराई गरि अन्यत्र जानेहरुको संङख्यामा वृद्धि हुदै गएपछि खेतियोग्य जमिनलाई अहिले बनमारा, अ‍ैसेलु लगायतका झाडिले ढाक्न थालेको छ ।
विगत केहि वर्ष अगाडि सम्म करिब ३० घरधुरी बसोबास गर्दै आइरहेको सिस्नेरी, देउखर्क उचकामा अहिले जम्मा ७ घर मात्र बसोबास गर्दै आइरहेको गलकोट नगरपालिका वडा नं. ८ देउखर्कका छविलाल गौतमले बताउनुभयो ।
बस्ती खाली हुदै जाँदा अन्नबाली समेत भालु, बाँदरलगायतका जंगली जनावरले नष्ट गर्ने गरेको गौतमको भनाई छ । सुविधा खोज्दै शहर केन्द्रित भएको र कतिपय वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेकोले गाउँमा अहिले जेष्ठ नागरिकहरु मात्र देख्न सकिने गौतमले बताउनुभयो ।
गलकोटको विभिन्न गाँउमा पछिल्लो समय धेरै सेवा सुविधाहरु पुगे पनि बसाईसराई गरि शहरबजार केन्द्रित हुनेहरुको संख्यामा भने कमी हुन नसकेको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।