क्षमताभन्दा बढी कैदीले बागलुङ कारगारमा कोरोना उच्च जोखिममा

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, असोज १९ २០७७

क्षमताभन्दा बढी कैदीबन्दीका कारण कारागारमा कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ ।
कोरोना महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ कारागार पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कोरोना संक्रमणको उच्च जोखिममा कैदीबन्दीहरु रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
भेटघाट, अदालत, अस्पताल र खाद्यान्न तथा तरकारीको बन्दोबस्तीका क्रममा कारागार बाहिरबाट कोरोना भित्रिन सक्ने भन्दै टोलीले सरोकारवालालाई सचेत गराईएको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिनुभयो ।
आइतबार कैदीबन्दीहरुसँग कुराकानी गर्दै पाठकले समस्या भएमा निर्धक्क मानवअधिकार आयोगसँग आफ्ना कुरा राख्न आग्रह गर्नुभएको थियो । ‘आफ्ना समस्या राख्दा प्रहरीले के भन्ला, प्रजिअ के भन्नुहुन्छ भन्नेमा नलागी आयोगसँग राखेका कुराका कारण केही अफ्ठेरो नपर्ने पाठकको भनाई थियो ।
कारागारको अनुगमन पूर्व आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, जेलर, बार, सरकारी वकिल, पत्रकार र प्रहरी प्रमुखको प्रतिक्रिया लिएको थियो । छलफलमा सहभागि अधिकांशले पूर्वाधारको अभावका कारण एउटै कोठामा कोचाकोच रहेका कैदीबन्दीमा संक्रमणको त्रास उच्च रहेको बताएका थिए ।
कारागारको स्थलगत अनुगमनमा रहेको टोलीले कैदीबन्दीको अवस्थाबारे प्रतिवेदन तयार पारेर असोज २८ गते सरकारलाई बुझाउने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, बार एसोसिएसन उच्च अदालत बागलुङ इजलासका अध्यक्ष हरि प्रसाद शर्मा, पत्रकार महासंघका सचिव राम थापा, जेलर मोहन प्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।
जिल्ला कारगार बागलुङमा १ सय ४० जना कैदीबन्दी छन् । तीमध्ये १५ महिला हुन् । जिल्ला कारागार पर्वतको महिला बन्दी गृह भत्केपछि बागलुङमा स्थानान्तरण गरिएका कैदीबन्दीको संख्या थप बढेको छ ।