नेकपा बागलुङले तित्याङमा जनभेटघाट

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, असोज १९ २០७७

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बागलुङले जनताका गुनासा र मागहरुको सम्बोधन गर्ने उदेश्यले बागलुङ नगरपालिकाको तित्याङका सर्वसाधारणसँग जनभेटघाट गरेको छ ।
नेकपा वडा कमिटीले आयोजना गरेको जनभेटघाट कार्यक्रममा जिल्ला अध्यक्षसहित नेकपाबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरु सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जनता र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुँदा मात्रै विकासले गति लिने बताउनुभयो ।
पार्टिलाई सक्रिय बनाउनका लागि पनि कार्यकर्ता र जनताको महत्वपूर्ण भूमिका हुने भन्दै समय समयमा पार्टि र जनप्रतिनिधिलाई झक्झकाउन उहाँले आग्रह गर्नुभएको छ । राजनितीक र पार्टीगत विभेदलाई चिर्दै समाजलाई समृद्धिको मार्गमा अघि बढाउनु अबको अवश्यकता रहेको सापकोटाको भनाई थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल, नेकपा बागलुङका सचिवालय सदस्य लाल बहादुर थापा, नेकपा बागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार, सचिव इन्द्र केसी र वडा अध्यक्ष गणेश थापा मगरलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागीले आफ्ना गुनासा र मागहरु राखेका थिए । नेकपा वडा कमिटीका अध्यक्ष रुद्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव टिकाराम सापकोटा र संचालन फणिन्द्र खड्काले गर्नुभएको थियो ।