धौलागिरीले थाल्यो प्लाज्मा थेरापीको तयारी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, भाद्र १७ २០७७

कोरोना संक्रमितको उपचारमा देशकै अग्रपंक्तिका अस्पतालको सूचीमा रहेको धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदसंग अनुमती मागेको छ ।
परिषदको अनुमतिपछि मात्रै यो विधिबाट उपचार गर्न पाईने कानुनी व्यवस्था छ । सम्भावित गम्भीर प्रकृतिका बिरामीको उपचार बागलुङमा नै गर्न सकियोस् भन्ने उदेश्यले प्लाज्मा थेरापी विधिबाट उपचारको लागि अनुमति मागिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।
हालसम्म बागलुङमा गम्भीर प्रकृतिका बिरामी भने छैनन् । अस्पतालले अनुमतिसँगै प्जाज्मा थेरापी विधिबाट उपचारको लागि रगतबाट प्लाज्मा छुट्याउन सेन्ट्रिफिक मेसिनसमेत माग गरेको छ । ‘अनुमति र उपकरण हुँदा हामी पनि प्लाज्मा थेरापीको विधि अपनाउन सक्छौं’ पोखरेलले भन्नुभयो– ‘निको भएकाहरु प्लाज्मा दिन तयार हुँदा मात्रै हामी सफल हुने हो ।’
अहिलेसम्म बागलुङका २ सय ६७ जनाले कोरोना जितेका छन् । अनौपचारिक रुपमा जैमिनीकी नर्सबाहेक कसैले प्लाज्मा दिन तयार रहेको भने जानकारी गराएका छैनन् । प्लाज्मा थेरापी विधिबाट उपचार गर्न थालेपछि कोरोना जितेकाहरुले प्लाज्मा दिन तयार हुने डा. पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।
प्लाज्मा थेरापी कोरोना संक्रमण निको भईसकेकाको प्लाज्मा निकालेर संक्रमित व्यक्तिमा राखी उपचार गर्ने विधि हो । कोरोना निको भएका व्यक्तिको शरीरमा एण्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा संक्रमित व्यक्तिमा ट्रान्समिट गर्दा भाईरसलाई कम गर्छ ।