पर्वतको जलजला गाउँपालिकाले नगर प्रहरी भर्ती गर्दै

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बुधबार, भाद्र १០ २០७७

शान्ति कायम गर्न स्थानीय प्रशासन र प्रहरीले असहयोग गरेको भन्दै पर्वतको जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी राख्ने प्रक्रिया सुरु गरेको छ ।
७ ओटा स्थानीय तह रहेको पर्वतमा जलजला गाउँपालिकाले जिल्लामा नै पहिलो पटक नगर प्रहरी राख्न प्रक्रिया शुरु गरेको हो ।
गाउँपालिका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले आफ्नो क्षेत्रमा समस्या परेको बेलामा नआउने प्रहरीले गिट्टी, बालुवा तथा क्रसर उद्योगहरूमा पुगेर दुख दिएको आरोप लगाउँदै पालिकाको हितका लागि आफ्नै प्रहरीको आवश्यकता परेको बताउनुभएको छ ।
संघीय कानुन हुँदा हुँदै पनि स्थानीय प्रशासन र जिल्ला समन्वय समितिले आफू अनुकूलका नियम र कानुन बनाउन खोजेको तथा पालिकामा हुने बिपद व्यवस्थापन र अनुगमनमा पनि फरक व्यवहार गरिएको अध्यक्ष मल्लको भनाई छ ।
गाउँपालिकाभित्र आन्तरिक सुरक्षाको अवस्था कमजोर बन्दा पनि प्रशासनले असहयोग गरेको भन्दै गाउँपालिकाले संविधान अनुसार आफ्नो अधिकारलाई प्रयोग गर्दै नगर प्रहरीका लागि विज्ञापन गरेको गाउँपालिकाका प्रमुख मल्लले जानकारी दिनुभयो ।
गाउँपालिकाले नगर प्रहरी राख्न सकिने गरी कानुन गाउँ सभाबाट पास गरेको थियो । सोही आधारमा कानुन बमोजिम नै नगर प्रहरीको भर्ना गर्न लागिएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने अवैध रूपमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गराउन गाउँपालिका प्रमुखबाट सहयोग मागिएको तर त्यो मुद्दा अख्तियारमा रहेका कारण सहयोग गर्न नसक्ने भनी निवेदनको उत्तर पठाएको बताउनुभयो ।