म्याग्दीका सीडिओ ढकाल जब सेना–प्रहरीसंगै श्रम गर्न खटिए

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, साउन १០ २០७७

प्रमुख जिल्ला अधिकारीको काम जिल्लाका अन्य सरकारी कार्यालयको रेखदेख, नियन्त्रण र निर्देशन दिने हो । तर, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाल भने फरक हुनुहुन्छ ।
उहाँ आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिने गर्नुभएको छ । बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने गरेको तस्वीर सार्वजनिक भएपछि ढकालले चौतर्फी प्रशंसा पाउनुभएको छ ।
प्रजिअ ढकालका अनुसार, जिल्लाका प्रायः सबै सडक भत्किएका छन् । सडक भत्किएकाले पहिरो प्रभावित बासिन्दालाई राहत पुर्याउनसमेत कठिन भएको छ । त्यसैले छिटो सडक निर्माणलाई प्राथमिकता दिएर आफू पनि दिनहुँ काममा खटिएको ढकालले बताउनुभयो ।
‘एक जना सहायक सीडीओलाई प्रशासनिक कामको अधिकार प्रत्योजन गरेको छु, अर्का एकजनलाई सीडीओलाई पूरै राहतको काममा खटाएको छु र मचाहिँ अपरेशनमा जान्छु,’ उहाँले भन्नुभयो ।
बाटो अवरुद्ध भएकाले सधैं हेलिकोप्टरबाट राहत पुर्याउन सम्भव नभएकोले बेनी–दरबाङ–ताकम जाने करिब ५० किलोमिटर सडक खोलिसकेको उहाँले जानकारी दिनुभयो । अबको मिसन बेनी–जोमसोम सडक र बागलुङबाट रत्नेचौरहुँदै बेनी आउने बाटो खुलाउने रहेको बताउनुभयो ।
उहाँका अनुसार, म्याग्दी बाढी–पहिरोबाट नराम्रोसँग प्रभावित छ । हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । गाउँमा जमिन चिरा–चिरा परेको छ । धौलागिरि गाउँपालिका वडा नं. ६ को मराङ भन्ने ठाउँ सबैभन्दा धेरै प्रभावित छ ।