अमेरिकामा मृत्यु भएकाको परिवारलाई राहत वितरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असार २८ २០७७

रोजगारीको सिलसिलामा अमेरिका गएको डेढ बर्ष नपुग्दै ज्यान गुमाउनु भएकी एक महिलाको परिवारलाइ राहत बितरण गरिएको छ ।
जैमिनी नगरपालिका वडा नं. १ की तुलसी थापा मगरको अमेरिकाको टेक्सासमा मृत्यु भएपछि अमेरिकामा रहेको नेपाल मगर संघले राहत संकलन गरेको थियो । राहतबाट जुटेको रकम नेपाल पत्रकार महासंघ बागलुङ शाखा र नेपाल मगर संघ बागलुङको संयोजनमा हस्तान्तरण गरिएको हो ।
मृतककी आमा हरिकला थापा मगरलाई संघका जिल्ला अध्यक्ष गणेश थापा र महासंघका अध्यक्ष दिल शिरिषले हस्तान्तरण गर्नु भएको थियो ।
अमेरिकामा बसेका आफन्त तथा मगर संघका पदाधिकारीले संकलन गरेको ९ हजार ३ सय डलरबाट नेपाली १० लाख ५८ हजार ७ सय ६४ रुपैयाँ हस्तान्तरण गरिएको हो । थापाको ३८ बर्षको उमेरमा गत फागुनमा ह्दयघातबाट निधन भएको थियो । सहयोगीले यस अघिनै पैसा पठाएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष थापाले सुखदुःखमा साथ दिने नेपालीको परंपराले अहिले राहत उपलब्ध भएको बताउनुभयो । पत्रकार बिजय रानाको संचालनमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष दिल शिरिष र मृतककी दिदी कुमारी थापाले पनि बोल्नु भएको भएको थियो ।