बृक्षारोपण गरि मदनलाई स्मरण गरियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, असार १५ २០७७

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आइतबार बागलुङमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
भण्डारीको जन्मजयन्ती नेकपा काँठेखोला गाउँपालिकाको आयोजना र जिल्ला कमिटि बागलुङको संयोजनमा काँठेखोला गाउँपालिका वडा नम्वर ६ बिहँुमा बृक्षारोपण गरी मनाईएको हो ।
सो अवसरमा नेकपा काँठेखोला गाउँपालिकाका पदाधिकारी, सदस्य, जिल्ला कमिटिका नेता तथा कार्यकर्ता र जनप्रतिनिधीको सहभागितामा बिहुँका स्थानीय भिमलाल कँडेलको बयलडाँडास्थित जमिनमा ८० वटा सुन्तलाका बिरुवा रोपिएको हो ।
वृक्षारोपण पछि आयोजित कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटि बागलुङका अध्यक्ष तथा प्रदेश साँसद इन्द्रलाल सापकोटा र प्रदेश सचिवालय सदस्य हिरा बहादुर केसीले जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडि बढ्दै किसानहरुसंग पार्टीलाई प्रत्यक्ष रुपमा जोड्नका लागि बृक्षारोपणको कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रम नेकपा काँठेखोला गाउँपालिकाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, वडा नम्वर ६ का पार्टी अध्यक्ष थानेश्वर कँडेलको स्वागत र गाउँपालिकाका पार्टी सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।