मुस्ताङमा ३ महिनापछि स्वदेश फर्किए पर्यटक

धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति :
शुक्रबार, असार ५ २០७७

मुस्ताङ जिल्लामा झन्डै ३ महिना बिताएर पाँच विदेशी पर्यटक बिहीबार स्वदेश प्रस्थान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमको समन्वय र सम्बन्धित दूतावासको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई मुस्ताङबाट फर्किने प्रवेशआज्ञा अनुमतिपत्र उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै मुस्ताङमा सयौं पर्यटक अलपत्र परेका थिए । लकडाउनले अलपत्र करिब २ सय पर्यटक सम्बन्धित दूतावासको पहलमा २ महिनाअघि नै स्वदेश फर्किसकेका छन् भने अझै ११ जना विदेशी पर्यटक सुरक्षित महशुस गर्दै मुस्ताङमै रहेका छन् ।
मुस्ताङमा रहेका कुल ११ पर्यटकमध्ये ५ विदेश पर्यटक स्वदेश प्रस्थान गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार, मुस्ताङबाट स्वदेश प्रस्थान गर्नेमा स्वीडेन, अमेरिका, फ्रान्स, ईटाली र जर्मनका १÷१ जना विदेशी पर्यटक छन् ।