बागलुङ बजारमा कृषि बजार केन्द्रको शुरुवात

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, जेष्ठ २८ २០७७

कोरोनाको कहरबीच बागलुङ नगरपालिकाले मंगलबारदेखि कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ ।
किसानले उत्पादन गरेका ताजा तरकारी बिचौलिया बिना उपभोक्ताले खरिद गर्न पाउने गरी बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा कृषि बजार सञ्चालनमा आएको हो । गत आर्थिक बर्षदेखि सुरु भएको कृषि बजार केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माणको काम सकिएलगत्तै मंगलबारदेखि बजार सञ्चालनमा आएको हो ।
बजारको शुभारम्भ गर्दै नगर प्रमुख जनकराज पौडेलले किसान र उपभोक्ता सिधा सम्पर्कमा रहने गरि संचालन हुने बजारबाट दुवै पक्षलाई फाईदा पुग्ने बताउनुभयो । किसानले स्वस्फुर्त उत्पादित बस्तुको मुल्य निर्धारण गर्ने र उपभोक्ताले सिधै किसानसँगबाट तरकारी तथा फलफुलहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको पौडेलको भनाई छ ।


बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले कृषकलाई सहज होस भन्ने उदेश्यले निजी जग्गालाई भाडामा लिएर कृषि उपज बिक्री बितरण गर्ने ब्यबस्था मिलाएको बताउनुभयो ।
जिल्ला कृषि सहकारी संघको व्यवस्थापनमा निर्मित केन्द्रको पूर्वाधारबारे अध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभएको थियो ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उपभोक्ता हितको लागि बजार महत्वपूर्ण हुने बताउनुभयो ।
बागलुङ नगरपालिकाको ८ लाख रुपैयाँ अनुदान र कृषि सहकारी संघको १ लाख ६२ हजार रुपैयाँ श्रमदानमा बजार सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो । नगरपालिकाका अनुसार तत्कालका लागि शनिवार र मंगलवार ताजा तरकारीको बजार लाग्ने भएको छ ।