बागलुङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १६ २០७७

बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कोरोना संन्त्रासका बीच सामाजिक दुरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाले जनाएको छ ।
बागलुङ नगरकार्यपालिकाको वैशाख १६ गतेको निर्णय अनुसार नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो ।
नगपालिकाको वडा नम्बर १, २, ८ र १३ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु भइसकेको, बानपा ६ ले सिचाई पाईप बिच्छाउने कार्य सम्पन्न गरेको र अन्य वडामा समेत छिट्टै शुरु हुने शर्माको भनाई छ ।
बन्दाबन्दीमा रोजगारबिहीन भएकालाई नगरपालिकाले राहत वितरण गर्न भन्दा रोजगार कार्यक्रम अन्र्तगत सामाजिक दुरी कायम गरी काममा लगाउन शुरु गरेका जानकारी दिदै रोजगार संयोजक शर्माले लकडाउनमा घरमै बसेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारी पाउँदा खुसी भएको बताउनुभयो ।
हाल रोजगार कार्यक्रम शुरु भएका वडामा १ सय ५७ जनाले रोजगारी पाइसकेको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार, यो वर्षमा ५ सयभन्दा बढीले रोजगारी पाउने छन् ।
नगरपालिकाका १४ वटै वडामा संकलन गरिएको बेरोजगारहरुको सूचीमा दुई हजार ३ सय ५० जना सूचिकृत छन् । जसमध्ये अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकतामा राखिएको छ ।
रोजगार कार्यक्रमका लागि बागलुङ नगरपालिकालाई प्राप्त ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामाग्री खरिद गरिने भएको छ ।