फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, बैशाख ७ २០७७

नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ ।
निर्धा्रित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिबाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा त्यही अनुसार समयावधि थप हुने प्रष्ट पार्नुभयो । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को गएको चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा बिलम्ब बापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।
त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको गएको चैत २५ गतेको आठ सय ३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।