‘समन्वय र सहकार्यले नै सजिलो भएको छ’

जिल्लामा खाद्यान्नको अवस्था दुई महिनाको लागि पुग्ने भन्ने छ
तारानाथ आचार्य, बागलुङ / प्रकाशित मिति :
बुधबार, चैत्र २६ २០७६

एक किशोरी र बृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बागलुङ जिल्ला कैलाली र कञ्चनपुरपछि संवेदनशिल क्षेत्र बनेको छ । यद्यपी विदेशबाट आएकाहरुबाट दोस्रो व्यक्तिमा संक्रमण फैलिएको छैन । जिल्लाभर झण्डै साढे ८ सय जना भारत र अन्य मुलुकबाट गरी आएकाहरु छन् । जुन कोरोनाको जोखिमपूर्ण मुलुक हुन् । कोरोनाको संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालसम्म पु¥याउने विषयमा निकै चर्चा र टिप्पणी भयो । कोरोनासँग जुध्नका लागि जिल्लामा धेरै संयन्त्र निर्माण भएका छन् । संयन्त्र नै प्रभावकारी नभएको भन्दै जनस्तरबाट निकै आलोचना भइरहेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको कमाण्ड पोष्ट, संकट व्यवस्थापन समिति र स्वयम् जिल्ला प्रशासन कार्यालयको तयारी के छ ? के गरिरहेको छ । लकडाउनको प्रभावकारी कार्यान्वयन र बिरामीको उपचार तथा थप चेकजाँचका प्रक्रियाहरु कहाँ पुगे लगायतका बिषयमा जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुसँग कार्यक्रम बेलाको बहसमा कार्यक्रम प्रस्तोता तारानाथ आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

कोरोना त्रासमा रहेका जिल्लाबासीलाई ढुक्क हुने अनुभुती दिलाउन के के गर्नुभएको छ ?
– हामीले कोराना भाईरस रोकथाम र नियन्त्रणका लागि सबै पक्षसँग समन्वय र सहमार्यमा काम गरिरहेका छौं । त्यसअनुसार तत् निकायले जे गर्नुपर्ने हो सोही अनुसारको काममा हामीले समन्वयकारी भूमिका निर्वाह गरिराखेको अवस्था छ ।
पहिलो कुरा त लकडाउन प्रभावकारी बनाउन लागिराखेको अवस्था छ । सुरुका दिनमा त हामीले बुझाई कम भएकालाई बुझाउनु पर्ने भो । यो रोगबाट बच्नका लागि सफाई गर्नुपर्ने, हात धुनुपर्ने, दुरी कायम गर्नुपर्ने, भिडभाडमा जान नहुने, घरमै बस्नुपर्ने लगायतका कुरामा सहजीकरण गर्नै समय लाग्यो । त्यो बेलाभन्दा अहिले क्रमशः नागरिकहरु सचेत भएको अवस्था छ । सुरुको अवस्थाभन्दा अहिले केही कडाई, अझै भनौं सम्झाई–बुझाई गर्ने काम गरेको अवस्था छ ।

जनचेतना बृद्धि हुने खालका कामहरु पनि भैरहेका छन् जिल्लामा ?
– हामीले प्रचार प्रसारलाई बढि नै प्राथमिकता दिईआएको छ । गाडीहरुबाट पनि माईकिङ भैरहेको छ । केही दिन अगाडि पसलहरुमा दुरी कायम गरेको अवस्था हो । अबका दिनमा दुरी कायम गर्नका लागि कसैले घेरा राखेको, कसैले डोरी टाँगेको अवस्था हामीले देख्न पाउँछौं । दुरी कायम गराउनु र सचेत गराउनु नै यो रोगसँग लड्ने पहिलो उपाय हो ।

कोरोनाको जोखिमयुक्त क्षेत्र हुने भो बागलुङ । अरु जिल्लाको तुलनामा हाम्रोमा सतर्कता बढीनै चाहिने देखियो । त्यो अनुसारको काम भएका छन् त ?

– दुई जनामा कोरोना देखिएको कारण हामी अझै चनाखो हुनु त छँदैछ । त्योभन्दा अघि पनि हामी चनाखो भएर लागेकै अवस्था हो । प्रचार प्रसार, लकडाउनको पालना, सुरक्षा निकायको खटनपटन, स्थानीय तहसँगको समन्वय सबै भएकै हो । अबका दिनमा पनि यसलाई अझै प्रभावकारी बनाउनेमा हामी छौं ।
कोरोनाको संक्रमण देखिनु पूर्व भएको तयारी पछिको अवस्थामा देखिएन । बिरामीलाई उपचार गर्न ल्याउन यहाँहरुका कारण ढिलाई भयो भन्ने सुनिन्छ नि, यो चाहिँ के हो ?

– म तपाईलाई के स्पष्ट पार्न चाहन्छु भने हामीले ढिलाई गरेको होईन् । यो सबै समन्वयमा गर्नुपर्ने, छलफल गरेर गर्नुपर्ने बिषय भएकाले केही समय छलफलमा पक्कै लागेको हो । ढिलो भएको हो । तर, ढिलाइ भएको अरु कारणले होईन । हामी समन्वयकारी भूमिकामा थियौं । यसलाई अन्यथा नबुझिदिन तपाईमार्फत म सबैमा अनुरोध गर्न चाहन्छु ।

पहिलो केशमा अस्पताल, दोस्रोमा यहाँहरु तयार हुनुभएन भन्ने छ त ?
– पहिलो केशको सवालमा अस्पताल प्रशासन स्वयं पनि त तयारी हुनुपर्ने हुन्छ । उहाँहरुले सहयोग नगरेको भन्ने होईन उहाँहरुले नै अहिले ट्रिटमेन्ट गरिरहनुभएको छ । उहाँहरुको काम सह्रानीय नै छ । सबैले मिलेर गरेको भएर नै राम्रो काम भैरहेको छ ।

थुप्रै संयन्त्रहरु बनेका छन् । छलफल र तयारी त पहिल्यै हुनुपर्ने होईन र ? खटिनुपर्ने बेला छलफल किन ?
–अवश्य पनि थियो, यसमा हामी तयार नै थियौं । चार बेडको आईसोलेसन तयार नै थियो । त्यसका लागि, बिरामी ल्याईसकेपछि उहाँहरुको सहजताका लागि अपनाउनुपर्ने साबधानीको बिषयमा छलफल त गर्नैप¥यो । त्यसका लागि केही समय लाग्यो ।

जिल्ला कमाण्ड पोष्ट के गर्दैछ अहिले ?
– जिल्ला कमाण्ड पोष्टले गर्नुपर्ने कोरोना रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण कामहरु गरिरहेको अवस्था छ । यहीँ कमाण्ड पोष्टबाट पनि बिभिन्न तहसँग छलफल, समन्वय र सहकार्य गर्नुपर्ने कामहरु गरेर अघि बढिरहेको अवस्था छ । हामीले अहिले यस अर्थलाई हेर्ने हो भने अहिलेसम्म जिल्लामा बिदेशबाट आएका हाम्रो तथ्यांक अनुसार, ७ सय ७८ जना भन्ने छ । उहाँहरुलाई होम क्वारेन्टाईनमा बस्नको लागि अनुरोध गरिएको छ । त्यसैगरी, ८ जना हामीले बनाएको क्वारेन्टाइनमा बसेको अवस्था छ । उहाँहरुको स्वास्थ्य अवस्थाको बिषयमा जानकारी र सुझाव दिने काम जेवसीले गरेको छ । जिल्लाको सम्पूर्ण स्वास्थ्य र गतिविधिको रिपोटिङ गर्ने काम पनि भैरहेको छ ।

जोखिमपूर्ण देशबाट आएकालाई क्वारेण्टाईनमा राखेर १४ दिन निगरानी गर्न किन सकिराखेको छैनौं ?
– नसकेको भन्ने होईन् । तपाईको सञ्चारमाध्यामबाट म स्पष्ट पार्न चाहन्छु कि उहाँहरुको ट्रेसिङ गरिरहँदा ज्वरो नआएको, खोकी नलागेको जस्ता कुनैपनि लक्षण नदेखिएको भएपछि हाम्रा साथीहरुले होम क्वारेन्टाईनमै राख्नका लागि अनुरोध गरिरहनुभएको हो । उहाँहरु सन्चो भएको अवस्थाका कारणले क्वारेन्टाईनमा ल्याउन नपरेको हो । अहिले पनि स्वास्थ्यकर्मीले निगरानी गरिरहेको अवस्था छ । यदि त्यस्तो समस्या देखापरे तत्काल जाँचको व्यवस्था हुन्छ ।

लक्षणको कुरा गर्दा, कोरोना पुष्टि भएका दुवै महिलामा पनि लक्षण त थिएन तर संक्रमण पुष्टि भयो नि ? यसरी बस्दा भयावह स्थिती आउने त होईन ?

– त्यो त यसो हो । ६५ बर्षिया आमा जब विदेशबाट फर्किनु भएको भनेपछि उहाँ चाहिँ छुट्टै होम क्वारेन्टाईनमा बस्नु भएको भन्ने छ । अनि उहाँहरुको स्वाब टेष्टको लागि गएको र उहाँहरुमा संक्रमण देखिएपछि भर्ना भएको अवस्था हो ।

सुरक्षा, स्वास्थ्यकर्मी र कठिन परिस्थितीमा खट्ने सरोकारवालाको सुरक्षाका लागि के गरिरहनुभएको छ ?
– अहिले सुरक्षा निकायका साथीहरु दत्तचित्त भएर लाग्नुभएको छ । अब सुरक्षाकै हिसाबले भन्ने हो भने त उहाँहरुलाई अहिलेनै कुनै व्यवस्था भैनसकेको अवस्था छ । उहाँहरु आँफै सुरक्षित भएर काम गरिरहनुभएको छ । अझै भनौ पिपिई त होईन कतैबाट ज्याकेट जस्तो पाएकाले उहाँहरुले त्यसलाई प्रयोग गर्नुभएको छ । अहिले मास्क, सेनिटाईजरको अभाव छैन । त्यसको प्रयोग सबैले गर्नुभएको छ । कतै न कतैबाट भएका व्यवस्थाले सहज भएको छ ।

सरोकारवाला कार्यालयको बिचमा समन्वय कस्तो छ ?
– समन्वय राम्रो छ । न्यानो सम्बन्ध भएका कारणले नै हामी एकआपसमा समन्वय गरेर काम गर्दै आएका छौं । टिम नै कोरोनाविरुद्व लागेका छौं । सबै लाग्नुपर्ने बेला हो । यसमा तपाईहरुको पनि भूमिका छ । म तपाईंलाई स्पष्ट पार्न चाहन्छु । सम्बन्धित सबै सरोकारवाला एकआपसमा लागेका कारणले नै हामी यहाँसम्म आएका छौं । यसमा कुनै किसिमको समस्या छैन ।

राहतमा एकद्वार प्रणाली अपनाउने भन्ने थियो, बागलुङमा के छ ? अत्यावश्यक बस्तुको उपलव्धताको कुरा के हुँदैछ ?
–सुरुका दिनमा त्यो नभएको भएपनि अहिले राहत वितरणमा एकरुपता भएको पाईएको छ । राहतको लागि स्थानीय पालिकाले समन्वय पनि गर्नुभएको छ । हामीले सञ्चारमाध्याममार्फत पनि जो विपन्न हहुनुहुन्छ, दैनिक मजदुरी गरेर खाने हुनुहुन्छ । यदि हुनुहुन्छ भने नछुट्नुहुन आग्रह गर्न चाहन्छु ।
आपुर्ति सम्बन्धि एउटा समिति छ । त्यसमार्फत हामीले यहाँका सरोकारवाला जो उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता मञ्च लगायतसँग बसेर छलफल गरेका छौं । सम्बन्धित व्यापारीलाई हामिले सम्पर्क गरेका छौं । उहाँहरुले जिल्लामा अभाव नरहेको भन्नुभएको छ । ग्यास पनि अस्ति आईपुगेको छ । खाद्यान्न लिन भैरहवा जानुपर्नेलाई हामीले सहजीकरण गरेको अवस्था छ ।
हामीलाई प्राप्त जानकारी अनुसार, जिल्लामा खाद्यान्नको अवस्था दुई महिनाको लागि पुग्ने भन्ने छ । हामीले अत्यावश्यक बस्तुको वितरणका लागि पासको व्यवस्था गरेका छौं । अझै उहाँहरुलाई पास नै चाहिँदैन् । मात्रै कुरा के हो भने दुध, पानी, खाद्यान्न, तरकारी बोक्ने बहानामा मान्छे बोक्न भएन् तर त्यस्ता ढुवानीका साधनलाई त्यसो नगर्नुहुन अनुरोध छ । अत्यावश्यक बस्तुको उपलव्धता र ढुवानीमा कुनै पनि अबरोध छैन् र हुँदैन पनि ।

अत्यावश्यक बस्तु बोक्ने सवारीलाई अन्तरपालिका रोकावट भएका गुनासा पनि आएका छन्, त्यसो गर्न पाईन्छ ?
– सुरुका दिनमा जसरी पालिकाले यदाकदा ग¥यो भन्ने हामीकहाँ आएको थियो । पछि हामीले त्यो बिषय खोज्यौं । यताबाट उता र उताबाट यता ल्याउनु पर्ने भएकाले अहिले त्यो खालको समस्या छैन् । अत्यावश्यक बस्तु तथा सेवाहरु कसैले पनि रोक्न मिल्दैन । संकटसँग जुध्ने भनेको सबै मिलेर नै हो । खासै समस्या अहिले छैन ।

¥यापिड टेष्टको तयारी कहाँ पुग्यो ?
– सामग्री आउँदै छ भन्ने जानकारी आएको छ । त्यसका लागि स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंको नेतृत्वले तयारी गरिरहेको छ । यसमा धौलागिरी अञ्चल अस्पतालका मेसु शैलेन्द्र बि पोखरेलको नेतृत्वमा रहेको टिम पनि तयार छ । टेष्टको लागि टिमले म्यापिङ गर्नुभएको छ । संक्रमितका परिवार सबैको नेगेटिभ आईसकेको छ । उहाँहरुले सम्पर्क गरेका व्यक्तिको पहिचान भैसकेको छ । बिदेशबाट आएका र उनीहरुको सम्पर्कका सबैको पहिचान भएर तयारी भएको अवस्थामा उहाँहरुले स्थानीय पालिकासँग समन्वय गरेर जतिसक्दो छिटो यो काम गर्नुहुन्छ । त्यसमा हामीले के गर्नुपर्छ तयार नै छौं ।

अन्त्यमा सम्पुर्ण पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
– लकडाउन लम्बिएको छ । यस अवस्थामा सबैलाई म हार्दिक अनुरोध के गर्न चाहन्छु भने यहाँहरुले देखाई रहनुभएको लकडाउनको पालना हाम्रै लागि हो । हामी सचेत भएर नै आँफु र अरुलाई सहयोग गर्न सक्छौं । यसलाई थप कडाईका साथ पालना गर्न अनुरोध गर्न चाहन्छु । अलिकति ख्याल गर्दा मात्रै हामी बच्छौं ।