भाइरस रोकथामका लागि करिव ३ करोड बजेटको बिनियोजन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र २२ २០७६

म्याग्दी जिल्लामा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि करिव ३ करोड बजेटको बिनियोजन गरिएको छ ।

कोरोना रोकथामका लागि म्याग्दीका स्थानीय तहहरुले दुई करोड ७४ लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् ।

कोरोना रोकथामका लागि अन्नपूर्ण गाउपालिकाले सत्तरी लाख, बेनी नगरपालिका र धवलागिरी गाउपालिकाले पचास÷पचास लाख, रघुगंगा गाउपालिकाले ३४ लाख र मालिका गाउपालिकाले बीस लाख रुपैयाँ बिनियोजन गरेका छन् ।

यसैगरि जिल्ला समन्वय समितिले विपन्नको खानपानको व्यवस्थापनका लागि छ वटा स्थानीय तहलाई दुई/दुई लाख र बेनी अस्पताललाई औजार, उपकरण खरिद गर्न तीन लाख सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पताललाई आइसोलेशन व्यवस्थापन गर्न पाँच लाख दिएको छ ।

म्याग्दीमा आइसोलेशनमा रहेका एक जनाको स्वावको नमुना संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएकोमा रिपोर्ट भने नेगेटिभ आएको छ । बेनी र स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टिनमा बस्नेको संख्या ५१ जना रहेको छ ।

यसैगरी गाउपालिकाहरुले विभिन्न बस्तीमा लकडाउनको कार्यान्वयन र कोरोना रोकथामका लागि सचेतना फैलाउन स्वमसेवक कार्यदल परिचालन गरेका छन् । म्याग्दीमा जथाभावी रुपमा आफूखुसी राहत बाड्न वितरण रोक लगाउने जिल्ला स्तरीय निर्णय अनुसार गाउपालिकाहरुले राहत उपलब्ध गराउने व्यवस्था मिलाएका छन् ।