कुश्मा र बलेवा जोड्ने नमुना मोटरेवल पुल बन्दै

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, चैत्र ३ २០७६

पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने नमुना मोटरेवल पुल बन्ने भएको छ ।
कुश्मा नगरपालिका– ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि प्रारम्भीक सर्वेक्षण गरिएको भएपनि पर्याप्त बजेट बिनीयोजन हुन नसक्दा योजना अलपत्र बनेको थियो ।
कालीगण्डकी नदिमाथि २०६ मिटरको उचाई र ५ सय १० मिटर लामो पुल बन्ने भएको हो । पुल निर्माणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको छ ।
महाशाखाका शाखा अधिकृत शशी पौडेलद्वारा जारी पत्रमा कुश्मा–नेपाने कालीगण्डकी मोटरेवल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवदेनका आधारमा र विभिन्न समयमा विभिन्न मन्त्रालयले गरेको सर्वेक्षणका आधारमा आवश्यक प्रकृयाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएको हो ।
उपभोक्ता समितिले २०७० सालदेखि हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय गरी ११ पटक निवेदन दिएको थियो ।
अन्तिम पटक गण्डकी प्रदेशको भौतीक पूर्वाधार विकास कायालयले समेत संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशनसँगै पुल निर्माण हुने आशा जगाएको उपभोक्ता समितिका अध्यक्ष तथा अभियन्ता मेघनाथ शर्माले बताउनुभयो ।
२०६ मिटरको उचाई र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुकहरुकै नमुना पुल हुने अपेक्षा गरिएको छ । यो पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्विनी हूँदै पोखरा र स्याङजा सम्मको दुरी घट्ने छ ।
प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि १ अर्ब २९ लाख रुपैया लागत लाग्ने अनुमान गरिएको थियो । तर अहिलेको अवस्थामा भने लागत बढ्ने देखिएको छ । अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका सहमति जुटाएर पुल निर्माणका लागि पहल भैरहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।