एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, चैत्र २ २០७६

सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।
आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्ला स्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो । डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् ।
एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने शर्माले जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयले स्वास्थ्यकर्मी सहितको डेस्क स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयलाई समेत परीक्षा केन्द्रको सूची उपलब्ध गराइसकेको छ ।
मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।