कोरोनाबाट जोगिन सचेतनामूलक घरदैलो कार्यक्रम

धौलागिरी एफ.एम. संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, चैत्र २ २០७६

कोरोना (कोभिड १९) बाट जोगिन सावधानी अपनाउन अनुरोध गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीले शनिबार बेनीमा सन्देशमुलक पर्चा वितरण गरेर घरदैलो गरेको छ ।
कोरोनाको कारण, लक्षण र बच्ने उपाय समावेश गरिएको पर्चा बाडेर ’पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार’ अभियान सुरु गरेको हो । नेकपाका नेता कार्यकर्ताले तीन समूहमा विभाजन भएर बेनी बजारमा पर्चा वितरण र घरदैलो गरेका थिए ।
मंगलाघाट, न्युरोड हुँदै कालीपुल र बालमन्दिरचोक हुँदै गणेशटोल क्षेत्रमा फरक–फरक समूहमा पर्चा वितरण गरिएको थियो । झण्डा बोकेका नेता कार्यकर्ताले घरघरमा पुगेर कोरोनाबाट जोगिन सावधानी अपनाउन अनुरोध गर्दै पर्चा वितरण गरेका थिए ।
बेनीमा सरसफाई कार्यक्रम गरेर अभियान सुरु गर्ने पुर्व निर्धा्रित कार्यक्रमलाई परिमार्जन गरिएको नेकपाका जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।
छिमेकी मित्रराष्ट्र चिनको उहान प्रान्तबाट सुरु भएर विश्वका ८० भन्दा बढी देशमा महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट तीन हजार पाँच सयभन्दा बढीको ज्यान गइसकेको छ । नेपालमा अहिलेसम्म नभित्रिए पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेपछि देशभर सतर्कता अपनाइएको छ ।
कोरोनाको त्रासका कारण अभियानका क्रममा धेरै मानिसको भिड, जमघट हुने कार्यक्रम नगरिने नेकपा म्याग्दीले जनाएको छ । थोरै संख्यामा घरदैलो, भेटघाट, बैठक, छलफल गरेर सावधानी अपनाएर कार्यक्रम गर्न मातहतका कमिटीलाई आग्रह गरेको छ ।