ताराखोला गाउँपालिकामा चार घरवास संचालन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन २០ २០७६

आगमी वर्ष २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको बागलुङको ताराखोला गाउँपालिकोले पर्यटकको लागि घरवास (होमस्टे) लाई प्राथमिकता दिएको छ ।
गाउँपालिकामा आउने पर्यटकहरुको सुरक्षित बासको लागि यस बर्ष चार घरबार संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नै लगानीमा अर्गलमा सात घर र ठूलो हिलेका पाँच घरमा घरबास सुरु गरेको छ ।
गाउँपालिकाले घरवासको लागि दश लाख रुपैयाँ बजेट विनियोजित गरेर वडा नम्बर २ अर्गलामा ‘किकल्टा घरवास’ र वडा नम्बर ५ ठूलो हिलेमा ‘हिले घरवास’ सुरु गरिएको अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो ।
उहाँले दुबै घरबास संचालनको लागि समान ५÷५ लाख रुपैयाँ विनियोजित गरिएको जानकारी दिनुभयो । अहिले घरबासको स्तोरन्नतीको लागि केहि बजेट विनियोजित गरिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
यस्तै ताराखोला गाउँपालिकामा गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नम्बर ४ छुम्टुमा ‘ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरवास’ र वडा नम्बर ५ सीपमा ‘सीप सामुदायिक घरवास’ संचालन गरिएको छ ।
प्रदेश सरकारले गण्डकी प्रदेशमा संचालनमा ल्याइएका होमस्टेहरुलाई पूर्वाधार निर्माणको लागि १०÷१० लाख रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिकाले सिकाइ र अनुभव आदानप्रदानका लागि अन्य घरवास भएका जिल्लामा घरवास सञ्चालकलाई अध्ययन भ्रमण समेत गराएको थियो ।
घरवासको बारेमा जान्न, होमस्टे कस्तो हुनुपर्छ, पाहुँनाको सत्कार कसरी गर्ने भन्ने जान्नको लागि स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र तनहुँको बन्दीपुर घरवासको भ्रमण गरिएको ‘किकल्टा घरवास’ सञ्चालक समितिका कोषाध्यक्ष केशकुमारी घर्ती मगरले बताउनुभयो ।
ताराखोलाको ‘किकल्टा’ घरवासमा आउने पाहुना÷पर्यटकले स्थानीय खानाका परिकारसँगै र पारिवारिक बसाइको आनन्द लिन सक्ने भएका छन् । उक्त घरवासमा आउने पर्यटकहरुले लोकल कोदोको ढिँडो, मकै, आलु, लोकल कुखुराको मासु बढी रुचाएको पाइएको कोषाध्यक्ष घर्ती मगरले बताउनुभयो ।
गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला धनी छ । ग्रामिण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरवास कार्यक्रम प्रभावकारी मानिन्छ । नेपाल भ्रमण वर्षको अवसरमा ताराखोलामा आन्तरिक पर्यटकहरु बढी भन्दा बढी भित्र्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाई छ ।
पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले चालु आवमा ७० लाख रुपैयाँ बजेट विनियोजित गरेको बताउनुभयो । उक्त बजेटले पर्यटनमत्रै पूर्वाधार निर्माण र प्रचारप्रसारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।