सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि शिक्षक पहिलो जिम्मेवारः सांसद डा. पाठक

रेश नुनथला माविको वार्षिकोत्सव सम्पन्न
धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन १८ २០७६

बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित नुनथला माविको ६४औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
बार्षिकोत्सव मुल समारोहमा बोल्दैै प्रतिनिधिसभा सांसद डा. सूर्य पाठकले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि शिक्षक पहिलो जिम्मेवार व्यक्ति रहेको बताउनुभयो । सरकारले विद्यालयको भौतिक सुधारमा ध्यान दिने उल्लेख गर्दै सांसद पाठकले शैक्षिक गुणस्तरको लागि शिक्षक, विद्यार्थी र अभिभावकले मेहनत गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापा, वडाध्यक्ष प्रेमबहादुर लामिछाने, अक्षयकोषदाता तारा शर्मा, अभिभावक गोविन्द कार्की, विद्यार्थी गणेश कुँवर र सिद्धार्थ कार्कीले बोल्नुभएको थियो ।
सो अवसराम रेशका डिलबहादुर कार्की, खडकबहादुर कार्की, अमरबहादुर कार्की र सर्वजित कार्कीले स्वर्गीय आमा लिलावती कार्कीको स्मृतिमा पाँच लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
कार्की परिवारले विगतमा ५० हजार रुपैयाँको कोष स्थापना गरेकोमा हाल पाँच लाख रुपैयाँ थप गरी साढे पाँच लाख रुपैयाँ पु¥याएको हो । त्यस्तै, रेश निवासी स्वर्गीय चन्द्रप्रसाद गौतमको स्मृतिमा उहाँकी श्रीमति यसोदा गौतम र नवविवाहिक छोरा बुहारी तिर्थप्रसाद गौतम र तारा शर्मा गौमले एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
वार्षिकोत्सवमो अवसरमा अभिभावक म्युजिकल चियर प्रतियोगीतामा, हाजिरी जवाफ, खुल्ला नृत्यु, मिठाई दौडे र तातो आलु प्रतियोगीता सम्पन्न भएको थियो । कार्यक्रममा प्रधानध्यापक ओमबहादुर थापाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाको अध्यक्षता, शिक्षक हरिबहादुर कँुवरको स्वागत र डिलबहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।