जनकल्याण माविमा चार कोठे पक्की भवन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन १४ २០७६

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा स्थित जनकल्याण माविमा चार काठे पक्की विद्यालय भवन निर्माण गरिएको छ ।
जिल्ला शिक्षा तथा समन्वय एकाई बागलुङ, काठेखोला गाउँपालिका र विद्यालयको आन्तरिक स्रोत गरी कुल ४७ लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण गरिएको हो ।
विद्यालय भवन मंगलबार सम्पन्न ९१औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विद्यालयको भौतिक संरचना पालिकाले निर्माण गर्ने र शिक्षाको गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीले मेहनत गर्नुपर्ने बताउनुभयो ।
‘भौतिक निर्माणको काम गाउँपालिकाले गर्छ’ अध्यक्ष थापाले भन्नुभयो–‘विद्यालयको भौतिक सुधारसँगै शैक्षिक सुधार मुख्य सवाल हो ।’ सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पालिकाले कुनै पनि कसर बाँकी नराख्ने अध्यक्ष थापाको भनाई थियो ।
कार्यक्रममा वडाध्यक्ष विद्यापति शर्मा, शिक्षाविध टिकाराम सापकोटा, स्रोतव्यक्ति पूर्णप्रसाद ढुङगाना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी अध्यक्ष रामप्रसाद शर्मा, नेपाली काग्रेस वडा समितिका उपसभापति भीमप्रसाद गौतम, राप्रपाका अध्यक्ष मानबहादुर कार्की, मुन्द्रीदेव आधारभूत विद्यालयका प्रधानध्यापक महेन्द्र थापा, अक्षयकोष संस्थापकको तर्फबाट भूमिश्वर रेग्मी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रधानध्यापक लिलाराम सापकोटाले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गौतमको अध्यक्षता, शिक्षक चन्द्रमणी उपाध्यायको स्वागत र शिक्षक विक्रम शर्माको संचालनमा सम्पनन भएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर मावि स्तरीय छात्र भलिबल प्रतियोगीतामा भीमसेन मावि प्रथम र जनकल्यण मावि द्धितीय भएका थिए भने हाजिरी जवाफ प्रतियोगीतामा भीमसेन मावि प्रथम, तितौरे मावि द्धितीय र अमर मावि बिहुँ तृतीय भएको शिक्षक शुशिल गौतमले जानकारी दिनुभयो ।
त्यस्तै, अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगीतामा मुन्द्रीदेव आधारभूत विद्यालय प्रथम, जनकल्याण मावि द्धितीय र शिवालय आधारभूत विद्यालय तृतीय भएका थिए । वार्षिकोत्सव चारदिवस कार्यक्रमसहित मनाएको थियो ।