पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुहोस्ः मुख्यमन्त्री गुरुङ

काठेखोला गाउँपालिका वडा नम्वर २ र ६ जोड्ने लामाबगर मोटरेवल पुलको शिलन्यास
धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन ७ २០७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ्गले बिकाश निर्माणका काममा पारदर्शिता र आर्थिक अनुशासन कायम हुनुपर्ने बताउनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर २ र ६ जोड्ने लामाबगर मोटरेवल पुलको शिलन्यास गर्दै उहाँले प्रदेश सरकार अन्र्तगतका सबै क्षेत्रमा जनताका माग र आवश्यकता अनुसारका निर्माण कार्यको थालनी भएको बताउनुभयो ।

जनताको जिवनस्तर उठाउनका लागि संघिय सरकार लागु भएको उल्लेख गर्दै मुख्य मन्त्रि गुरुङले मुलुकलाई अग्रगतिमा लैजानका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले अहिले मुलुकमा राजनितिक युगको अन्त्य भएर बिकाश र सम्मृद्धिको युग शुरु भएको दाबी समेत गर्नुभयो ।

पुल निर्माणका लागि एमएस निलगिरी नेशनल जेभी कुपण्डोलसंग ३ करोड ३१ लाख ६१ हजार रुपयाँमा ठेक्का सम्झौता गरिएको गाउँंपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर बिकले जानकारी दिनुभयो । उहाँका अनुसार सो पुलको लम्बाई ३० मिटर र चौडाई ८ दशमलव ४ मिटर रहने भएको छ ।

२०७६ साल श्रावण १६ गते शुरु भएको पुल निर्माण कार्य २०७७ साल माघ २५मा सम्पन्न गर्ने गरि सम्झौता भएको निलगिरी नेशनल जेभीका ईञ्जीनियर गोबिन्दप्रसाद चौधरीले जानकारी दिनुभयो । काममा अन्य अवरोध केही नभएमा तोकिएको समयसिमा भन्दा अगाडीनै सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार सुनिल सिहं ठकुरीको भनाई रहेको छ ।

पुल निर्माण भएपछि गाउँपालिका अन्र्तगत बिहुँ भिमापोखरा धम्जा तँग्राम लगायतका बासिन्दा लाभान्वीत हुने भएका छन् । कार्यक्रम काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर बिकको स्वागत मन्तव्य र कार्यपालिका सदस्य टिकासंगम बिकको संचालनमा सम्पन्न भएको थियो ।