पूर्ण खोपबाट बागलुङका २३ प्रतिशत बालबालिका बञ्चित

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, फाल्गुन १ २០७६

बागलुङमा २३ प्रतिशत बालबालिका पुर्ण खोपबाट बञ्चित भएका छन् ।

स्वास्थ्य कार्यालय बागलुङले दादुरा–रुबेला खोप अभियानका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्र्रिया तथा छलफलमा जनचेतनाको कमीका कारण अझै पनि बालबालिका पुर्ण खोपबाट बञ्चित रहेको बताइएको हो ।

बागलुङ जिल्लामा दुई चरण गरी खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिनुभयो । पहिलो चरणमा आगामी चैत ५–१३ गते सम्म निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा र दोस्रो चरणमा १५–२३ गते सम्म गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा खोप लगाइने छ ।

खोप समन्वय समिती, सञ्चारकर्मी र सरोकारवालाहरुको सहभागीतामा भएको छलफलमा जनस्वास्थ्य अधिकृत गुरौले ७८ प्रतिशत बालबालिकाले पुर्ण खोप, २१ प्रतिशतले आंशिक खोप पाएको र एक प्रतिशत बालबालिकाले नपाएको बताउनुभयो । श्वासप्रश्वासको माध्यमबाट सर्ने यस रोग लाग्दा उच्च ज्वरो आउने, नाकबाट पानी बग्ने, शरिरमा रातो बिमिरा आउने लक्षण देखिने जानकारी दिनुभयो ।

यसले अन्धोपन, कुपोषण बनाउने भएकाले ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई अनिवार्य खोप लगाउनुपर्ने बताउनुभयो । सबै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई खोप लगाएको सुनिश्चितता हुनुपर्ने भएपछि हाल सम्म हुन नसकेकाले बाल मृत्युदर कायमै रहेको छ ।

दादुरा रोगको निवारण २०१९ सम्म गर्ने लक्ष्य राखिएको भएपनि निवारण नभएकाले सन् २०२३ सम्म निवारण गर्ने सरकारले लक्ष्य लिएको छ । खोप अभियान फागुन १ गते देखि चैत मसान्त सम्म देशैभर सञ्चालन हुदैँछ । विश्वमा दादुराबाट हुने मृत्युदर ८४ प्रतिशतले घटेको भएपनि नेपाल लगायत ६ देशमा यसको नियन्त्रणका लागि अभियान पनि चलाइएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले खोप लगाए पछि हुन सक्ने अवान्छित घटना तथा यसको व्यवस्थापनका बारेमा जानकारी दिनुभयो । बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले दादुरा रोग नियन्त्रणका लागि ग्रामिण स्तरमा जनचेतना बृद्धि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, खोप सुपरभाईजर राजु खत्रीको स्वागत र जनस्वास्थ्य कार्यालयका तथ्याङक अधिकृत घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।