जैमिनीका सामुदायिक विद्यालयमा सेनेटरी प्याड

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, माघ २७ २០७६

बागलुङको जैमिनि नगरपालिकाले स्थानिय सामुदायिक बिद्यालयका छात्राहरुलाई सेनेटरी प्याड बितरण गरेको छ ।

सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधी पारित गरेको २ महिना पछि बागलुङको जैमिनी नगरपालिकाले सामुदायिक बिद्यालयका छात्राहरुलाई सेनेटरी प्याड बितरण गरेको हो ।

चालु आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि सरकारले बजेट विनियोजन गरेको भएपनि विद्यार्थीलाई प्याड बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समुहका अध्यक्ष मेलिना चापागाईलाई नगरपालिकाका उपप्रमुख लिला रानाले सेनेटरी प्याड हस्तान्तरण गरेर प्याड वितरण कार्यक्रम सुरु भएको जानकारी गराउनु भएको थियो ।

विभिन्न कारणले प्याड वितरण कार्यक्रममा ढिलाई भएको थियो । प्याड हस्तान्तरण गर्दै उपप्रमुख रानाले बालअधिकार चेतना समुहलाई प्याड हस्तान्तरण गरेर सुरु भएको यो कार्यक्रम नगरपालिकाका २२ विद्यालमा लागु हुने जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका सामुदायिक विद्यालयका १ हजार ७ सय ८७ जना छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने नगर शिक्षा अधिकारी खेम आचार्यले बताउनुभयो । महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ वटाका दरले महिनाको १६ वटाका दरले वितरण गरिने उहाँको भनाई थियो ।

महिनाबारीको समयमा छात्राहरुले विद्यालय छोड्ने समस्या समधानको लागि सरकारले थालेको अभियान सफल बनाउनको लागि नगरका सबै विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताउनुभयो ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि १ अर्व २७ करोड ७३ लाख रुपैया बजेट विनियोजन गरेको छ ।