ऊर्जामन्त्री पुन उत्तरगंगा जलाशययुक्त आयोजनास्थलमा

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ २१ २០७६

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ढोरपाटन उपत्यकामा निर्माण हुने ७ सय २१ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनास्थलको निरिक्षण गर्नु भएको छ ।
बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य कमला रोका सहित आएर ऊर्जामन्त्री पुनले सोमबार आयोजनास्थलको निरिक्षण गर्नु भएको हो ।
ढोरपाटन उपत्यकामा बन्ने जलाशययुक्त आयोजनाबाट पानी बाग्लुङतिर खसाल्ने की रुकुमतिर भन्नेमा लामो समयदेखि विवाद थियो । ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उत्तरगंगा जलाशययुक्त आयोजनालाई छिटो अगाडि बढाउन चाहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टिमको पछिल्लो अध्ययनले उत्तरगंगा नदिको पानीलाई एक हजार तीन सय ५० मिटर लामो सुरुङमार्गबाट निसीखोलामा खसालेर विद्युत् उत्पादन गर्दा ७ सय २१ मेगावाट विद्युत् उत्पादन हुने र सोही विकल्प उत्तम भएको सुझाव दिएको छ ।
आयोजनाको अनुमानित लागत एक खर्ब २० अर्ब हुने बताइएको छ । यसअघि उत्तरगंगा आयोजना आठ सय २८ मेगावाटको हुने र एक खर्ब ७० अर्ब लागत लाग्ने अनुमान गरिएको थियो ।
विक्रम् संवत् २०८३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उत्तरगंगा आयोजनाको विद्युत् उत्पादनपछि पानी बागलुङतिर खसाल्ने या रुकुमतिर भन्ने विवादका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । ऊर्जामन्त्री पुनले आयोजना अघि बढाउन स्थानीयहरुसँग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो ।