बागलुङ र म्याग्दीमा राष्ट्रिय योग दिवस मनाईयो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ २ २០७६

पाँचौँ राष्ट्रिय योग दिवस बागलुङमा पनि मनाईएको छ । पतञ्जली योग समिति बागलुङको सहयोग एबं राष्ट्रिय योग दिवस मुल समारोह समिति र धौलागिरी अञ्चल आर्युबेद औषधालयको आयोजनामा दिवस मनाईएको हो ।
योग दिवसको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले स्वस्थ्य जीवन यापन गर्नका लागि योग साधनाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
अस्वस्थ्यकर जीवनशैलीका कारण मुटु, सुगर प्रेसर लगायतका भयावह रोगहरु फैलिदै गएको चर्चा गर्दै ढुङ्गानाले योग र साधनाको माध्यमबाट स्वस्थ जिवन यापन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले योग शिक्षाको बिकासका लागि सकरात्मक निति ल्याएकोले योगसंग सबै जोडिनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दिर्घजिवी तथा निरोगी भएर जीउन नियमित योग साधना अनिबार्य रहेको बताउनुभयो । उहांले योग सबै क्षेत्र बर्ग उमेर समुहका लागि आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा पतञ्जली योग समितिका पदाधीकारी किरण भामा श्रेष्ठ, हिरा केसी, धन बहादुर कार्की, कल्पना श्रेष्ठ लगायतले योगाभ्यास गराउनु भएको थियो । कार्यक्रमको मुल समारोह पुर्व प्रभातफेरी गरिएकोे थियो ।
स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।

अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण धेरै जसो मानिसहरु नसर्ने रोगको शिकार भएका छन् । नसर्ने किसिमका रोगमा पनि मानसिक समस्या, मोटोपन सम्बन्धी समस्याले आधा हिस्सा ओगट्ने गरेको छ ।

यस्ता समस्यादेखि रोकथाम गर्ने मानिसकले शारीरिक व्यायाम अपरिहार्य रहेको योगा प्रशिक्षकहरु बताउँछन् । योगाका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ । दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

वि.सं. २०३६ देखि नै सूर्यको उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्नेे संस्थाहरूको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।
यसैगरि जिल्ला समन्वय समिति म्याग्दी र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए । म्याग्दीमा पछिल्लो समय योगप्रती आकर्षण बढेपनि पूर्वाधारको अभाव भएको सहभागीको भनाई थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले स्वास्थ्य र सकारात्मक भावनाको विकास गराउन योगको आवश्यकता रहेको बताउदै म्याग्दीमा योगका लागि पूर्वाधारको व्यवस्थापनमा स्थानीय तहहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले नियमित योग अभ्यास गरेमा उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगबाट बच्न सकिने उल्लेख गर्दै अस्पताल बनाउन जस्तै रोग लाग्नबाट बचाउन योग शिक्षाको महत्वका बारेमा जनचेतना फैलाउन पनि महत्व दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख माधवराज ढकाल, हुलाक कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठ, नेपाली काग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले मौलिक आयुर्वेद र योगको संरक्षण र उपभोगमा जोड दिनुभयो ।

कार्यक्रममा नविन आनन्द योग केन्द्रको तर्फबाट बेनीमा योगाश्रम भवन निर्माणका लागि तीन आना खरिद र तीन आना दान गरेर जग्गा जुटाएको र त्यसमा भवन निर्माणका लागि सहयोगको अपिल गरिएको थियो भने सहयोगदाताहरुलाई सम्मान पनि गरिएको थियो ।

स्थायी पूर्वाधारको अभावमा होटलको सभाहल, मन्दिरका सत्तल, चलचित्र हलमा योग कक्षा सञ्चालन गर्नुपरेको नविन आनन्द योग केन्द्रका उपाध्यक्ष सुरेन्द्रराज शर्माले बताउनुभयो । केन्द्रका अध्यक्ष नविन जुक्जालीको अध्यक्षता र हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।