गर्भवतिको घरमा झण्डा, हातमा अण्डा

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शनिबार, पुष २६ २០७६

म्याग्दीको बेनी नगरपालिका–९ घतानका गर्भवतिलाई अण्डा वितरण र घरमा झण्डा वितरण गरिएको छ ।
वडा स्तरीय महिला सञ्जाल र पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले सुनौला हजार दिने घरको पहिचान, परामर्श र अनुगमन कार्यक्रम सुरु गरेको हो । गर्भवति भएका घर पहिचान गरि उनिहरुलाई पौष्टिक आहरा खुवाउनुपर्ने, आमा र बच्चाको स्याहार सुसारमा परिवारले सघाउनु पर्ने सन्देश पु¥याउन हरियो झण्डा राखिएको हो ।
घतान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवतिको घरमा झण्डा, ब्यवहार परिवर्तनका दश बुदे प्रतिवद्धता सहितको पोष्टर राख्ने कार्यक्रमको सुरुवात गरिएको हो । गर्भवतिहरुलाई एक÷एक क्रेट अण्डा वितरण समेत गरिएको थियो ।
स्वास्थ्य चौकिका अनुसार घतानमा अहिले १७ जना गर्भवति छन् । उनिहरु सबैका घरमा हरियो झण्डा र ब्यवहार परिर्वतनका प्रतिवद्धताको बोर्ड राख्नुका साथै अण्डा वितरण गरिने स्वास्थ्य चौकीका प्रमुख जमुना शर्माले बताउनुभयो । घरमा राखिएको झण्डा सुत्केरी भएपछि महिला स्वास्थ्य स्वमसेविकालाई दिनुपर्नेछ । स्वमसेविकाले गर्भवति भएको अर्को घरमा उक्त झण्डा राख्ने व्यवस्था मिलाइएको छ ।
पोषण र मातृ शिशू स्वास्थ्य सुधारका लागि यस्तो कार्यक्रम गरिएको उहाले बताउनुभयो । महिला लक्षित कार्यक्रमका लागि वडाको प्रस्तावमा नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बिनियोजन गरेको थियो ।