सल्यानका एघार सुत्केरी महिलालाई रातो भाले

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष १८ २០७६

बागलुङको बरेङ गाउँ कार्यपालिकाको कार्यालय हुग्दिशिरले सल्यानका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सम्मान गरेको छ ।
पालिकाले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत सुत्केरी महिलालाई रातो भाले, महिला लक्षित कार्यक्रम अन्तर्गत असल बुहारी सम्मान र उमेर ७० अन्र्तगत जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेको हो ।
सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्ध, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घर परिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिका शिक्षा सबैमा सक्षम महिलालाई पालिकाले सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो ।
बिहिबार वडा नम्बर ४ सल्यानका ९ असल बुहारीलाई सम्मान पत्र र एकएक वटा थर्मस प्रदान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लिलबहादुर खत्रीले बताउनुभयो । सल्यान साविकका ९ वडाका प्रत्येक वडाबाट एक÷एक जना गरी असल बुहारीका रुपमा संगिता खत्री थापा, कमला विक, राधिका शर्मा, पार्वती पुन, कोपिला खत्री, लक्ष्मी खत्री, पार्वती खत्री, मिरा खत्री, डोलमाया विकलाई सम्मान गरिएको थियो ।
त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ५० जना जेष्ठ नागरिकलाई पनि उपहार सामाग्रीसँगै निशुल्क स्वास्थ्य परीक्षण र आयुर्वे्दिक औषधि वितरण गरेको छ ।