जिल्ला स्तरीय मावि तह हाजिरिजवाफ प्रतियोगिता हुँदै

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शुक्रबार, पुष १८ २០७६

म्याग्दीमा जिल्लास्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ ।
काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले जिल्लाभित्रका माध्यमिक तहका विद्यार्थीहरुले भाग लिन पाउने गरि प्रतियोगिताको आयोजना गरेको हो ।

आगामी माघ महिनाको ३ र ४ गते सञ्चालन गरिने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको म्याग्देली विद्यार्थी परिवारकी अध्यक्ष केशरी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुई चरणमा गरि प्रतियोगितालाई जिल्लाका अधिकाँश माध्यमिक तहका विद्यालयको सहभागिता गराउने लक्ष्यका साथ तयारीलाई अघि बढाईएको छ ।
म्याग्दीका स्थानीय तह र विभिन्न संघ संस्थाका साथै अन्य सहयोगदाताहरु मार्फत समेत प्रतियोगितालाई सफल बनाउन सहयोग जुटाउने कार्य भैरहेको जनाइएको छ ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकाभित्र रहेका विद्यालयहरुलाई लक्षित गरि माघ ३ गते मंगला शिक्षा क्याम्पस बावियचौर र बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँ पालिकाभित्रका विद्यालयहरुलाई लक्षित गरि गलेश्वरमा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । दुई क्षेत्रमा गरि प्रथम, द्धितिय र तृतिय हुने ६ वटा समुहलाई बेनीमा माघ ४ गते फाइनल प्रतियोगिता सञ्चालन गरिने संस्थाकी सचिव सरिता थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई यातायात, खानाको व्यवस्था समेत गरिएको छ । हरेक विद्यालयबाट २ जना विद्यार्थिले प्रतियोगितामा भाग लिने भएका छन् ।
सहभागि विद्यालयलाई ५ सय दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाइ क्रमश ः नगद २० हजार, १२ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।