दुवै आँखाले देख्न सक्छु भन्ने लागेको थिएन्

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
शुक्रबार, पुष ११ २០७६

पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित खोलाखेतकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर दुवै आँखाले देख्न सक्छु भन्ने लागेको थिएन् ।
मोतियाबिन्दुका कारण केही वर्षदेखि उहाँको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो । तर अब उनी देख्न सक्ने हुनुभएको छ छ । ‘देउरे आँखाले अलि अलि भेम पाएर यताउति गर्थेँ । साह्रै गाह्रो भएको थियो ।’ उहाँले भन्नुभयो, ‘आँखाको अप्रेसन भयो अब त देख्न सक्छु ।
फलेवास नगरपालिकाकै चन्द्रबहादुर परियारको पनि डेढ वर्षदेखि आँखामा जालोले ढाकेको थियो । यही कारण उहाँलाई हिँडडुलका लागि निकै समस्या भएको थियो । उहाँले पनि अब भने दुवै आँखाले देख्न सक्नुहुने छ ।
पर्वतका विभिन्न लायन्स क्लब मिलेर आयोजना गरेको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा उहाँले पनि शल्यक्रिया गराउनुभयो । ‘ पर्वतमा मोतियाबिन्दुको शल्यक्रिया हुन नसक्नु तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण रोग पालेर बसेका ५० जनाको बिहीबार जिल्ला अस्पताल पर्वतमा राखिएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिएको छ ।
शिविरमा आँखा परीक्षण र मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क रूपमा थियो भने औषधि र चस्माका लागि सम्बन्धित बिरामीलाई न्यूनतम खर्च मात्र तिराइएको छ । आर्थिक अवस्था न्यून भएका कारण रोग पालेर बसेकाहरू नै शिविरमा उपचारको लागि आएकाले आर्थिक अवस्था कमजोर भएकै कारण रोग पालेर बस्नुपर्ने बाध्यतामा रहेको अवस्था शिविर सञ्चालनमा देखिएको पनि शिविरमा संलग्न लायन्सहरुले बताएका छन् ।
लायन्स क्लब अफ शिवालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माका अनुसार लायन्स क्लब अफ शिवालय कुस्मा, लायन्स क्लब अफ पर्वत मोदी काली र लायन्स क्लब अफ पर्वत कुस्मा सिटीले हिमालय आँखा अस्पताल पोखराको सहकार्यमा जिल्लाका ४ ठाउँमा पुगेर आँखाका बिरामीको परीक्षण गरेपछि शल्यक्रिया गर्नुपर्नेहरूलाई एकै ठाउँमा जम्मा पारेर शल्यक्रिया गरिएको हो ।
मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुस्मा नगरपालिकामा चलाइएका आँखा शिविरहरूमा ८ सय ७० जनाको आँखा परीक्षण गर्दा ५० जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो । आँखाको परीक्षण र शल्यक्रियामा हिमालय आँखा अस्पताल पोखराको टोली खटिएको छ ।