चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, पुष ७ २០७६

अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था मंसिर मसान्तदेखि बन्द भएका छन् ।
चिसो र हिमपातले विद्यालयको पठन–पाठन प्रभावित गर्ने भएकाले ३६ शैक्षिक संस्थालाई हिउँदे बिदा दिनु परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिनुभयो ।
शिक्षा नियमावली अनुसार मुलुकका शैक्षिक संस्थाले बर्सेनी ४५ दिन बिदा पाउँछन् । सरकारले नियमित दिने गरेको बिदा, १५ दिनको चाडपर्व बिदा र १५ दिने सार्वजनिक बिदा जोडेर २ महिना १५ दिन हिउँदे बिदा दिने परम्परा रहेको बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिमाली तथा उच्चपहाडी जिल्लाबाहेक अन्य जिल्लाका शैक्षिक संस्थाले यसप्रकारको बिदा दसैं–तिहार र बर्खाको अनुकुल समयमा दिने गरेका छन् ।
मुस्ताङका ५ स्थानीयतहका ५६ सामुदायिक विद्यालयमध्ये ३६ विद्यालयलाई बिदा दिइएको इकाई प्रमुख बरालको भनाइ छ । उहाँका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २० सामुदायिक विद्यालयले भने हिउँदे बिदा नभइ घुम्ती कक्षाका रुपमा पोखराका विभिन्न स्थानमा पठन–पाठन गरिरहेका छन् ।
यस्तै ,उपल्लो मुस्ताङका ४ गुम्बा विद्यालय पनि घुम्तीका लागि पोखरा झरेको उहाँको भनाइ छ । उनीहरू कार्तिक अगावै जाडो छल्न पोखरा झरेको इकाई प्रमुख बरालले उल्लेख गर्नुभयो । घुम्ती पढाइका लागि झरेका शैक्षिक संस्थालाई सम्बन्धित स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्ने उहाँको भनाई छ ।
पालिकाले सामुहिक अस्थायी मर्ज गरेर एकै स्थानमा बेंसीमा पढाउने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । २ महिना बढी हिउँदे बिदा दिइएका विद्यालय र उपल्लो मुस्ताङका घुम्ती विद्यालयले चालु वर्षको शैक्षिक सत्रको परीक्षा र नतिजा सार्वजनिक गरी सकेको उहाँले बताउनुभयो ।
जाडोका कारण हिउँदे बिदा दिएका विद्यालयल फागुनको पहिलो साता सञ्चालन गर्नेछन् भने जाडो छल्न झरेका घुम्ती विद्यालयले चैत्रको पहिलो साता साविककै स्थानमा पठन–पाठन सुरु गर्ने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।