बागलुङमा स्वास्थ्य बीमा प्रभावकारी हुँदै

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, कार्तिक २០ २០७६

नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बन्दै गएको छ ।

जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २ सय ८ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताउनुभयो ।

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या बढी रहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बीमामा हालसम्म ५२ हजार २ सय ८ जना आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको उक्त बोर्डले जनाएको छ ।

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

धवलागिरि अञ्चल अस्पतालमा कमै मात्रमा बिरामी आउन गरेकामा सो कार्यक्रम लागू भएपछि बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो ।

अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक ३ सय को हाराहारीमा आउने गरेको जानकारी दिदै उहाँले नियमित औषधि सेवन गर्ने बिरामीहरुले निःशुल्क औषधि लिनकै लागि पनि अस्पताल आउने गरेको बताउनुभयो ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार ५ सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य ७ सय का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधरण जनता अनभिज्ञ भए पनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताउनुभयो । बीमा रकम तिर्न नसक्ने अति गरीब तथा ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायत उपचार गराउनाका साथै झण्डै ४ सय ८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७२ दर्ता सहयोगीले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको बताइएको छ ।