बागलुङका तीन जनालाई डेंगुको संक्रमण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, भाद्र २០ २០७६

बागलुङका ३ जनामा डेङ्गुको संक्रमण देखिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटियाका ३१ वर्षीय एक पुरुष र बागलुङ स्थायी ठेगाना भई हाल पोखराको शान्ती बाटिका बस्ने २६ वर्षीय एक महिला र भीमापोखराका एक युवामा डेंगूको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुको पोखराको फेवासिटी हस्पिटल र गण्डकी अस्पतालमा उपचार भै रहेको छ । स्थायी ठेगानाका बागलुङ उल्लेख भएपनि डेंगु देखिएका दुवै जिल्ला बाहिर बस्दै आएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

धौलागिरी अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा भीमापोखराका एक युवामा संक्रमण भेटिएको धौलागिरी अंचल अस्पतालका निमित्त प्रमुख डा. शैलेन्द्र विक पौडेलले जानकारी दिनुभयो । संक्रमित सबै जिल्ला बाहिर बसोबास गर्दै आएको देखिएको छ ।

पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको केही दिनमै बागलुङ र पर्वतका केही व्यक्तिमा पनि यसको संक्रमण देखिएको हो । डेंगुको संक्रमण भेटिए पछि बागलुङ सदरमुकाम सहित पर्वत र म्याग्दीका स्वास्थ्य कार्यालयले समेत सर्तकता अपनाउन आग्रह गरेका छन ।

कार्यालयको संयोजनमा सदरमुकाम बागलुङ बजारमा माईकिङ समेत गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका सवै स्थानिय तहलाई यस प्रति सचेत हुनका लागि पत्रचार समेत गरेको छ ।

‘अहिलेलाई शंकास्पद बिरामीको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार हुन्छ,’ घिमिरेले भन्नुभयोे ‘आगामी दिनमा जिल्लाका तिन वटै प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारको र जाँचको व्यवस्था मिलाउने छौं ।’ उहाँका अनुसार मंगलबारदेखि अञ्चल अस्पतालमै डेंगू किट मेशिन राखिएको छ । अब कुनै पनि नागरिकलाई शंकास्पद देखिए तत्काल जाँच गर्न सकिने छ ।