बनि नसक्दै भासियो पर्वतको कार्किनेटा स्वास्थ्यचौकी भवनv

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बिहिबार, भाद्र १९ २០७६

पर्वतको कार्कीनेटा स्वास्थ्यचौकी भवन भासिएको छ । फलेबास नगरपालिका–१ कार्किनेटास्थित खाल्टाथरमा निर्माणाधीन भवन जमिनसहित भासिन थालेको हो ।
डेढतले ९ कोठाको भवन करिब ३ रोपनी क्षेत्रमा अढाई करोड लागतमा निर्माणाधीन थियो । स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण हुन लागेको हो ।
नयाँ भवन बनेपछि सेवासुविधासमेत थप हुने आशामा रहेका स्थानीयवासी भवन निर्माण नहुँदै दुबै तर्फको जमिन भासिन थालेपछि निराश छन । निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग धस्सिएको छ । चारैतर्फ पानी तर्काउन बनाइएको नाली र बरन्डा धस्सिएपछि भवनको मुख्य संरचनासमेत भत्किने खतरामा पुगेको छ ।
०७४ वैशाखमा निर्माणको काम थाल्ने बेलैमा स्थानीयले कमजोर जग्गामा नबनाउन भन्दै विरोध जनाएका थिए । अन्यत्र विकल्प हुँदाहुँदै यहाँ बनाउन उपयुक्त नभएको विषय पटकपटक सुझाएको स्थानीय भूपेन्द्र पोख्रेलले बताउनुभयो । जग्गा छनोट समितिले दुईतर्फी सडकको बीचमा धाँजा फाटेको र निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माणको निर्णय गरेको स्थानीयको आरोप छ ।
कमजोर जमिनमा भवन डिभिजन कार्यालयले समेत अख्तियारी दिएपछि भवन नबन्दै पनि पहिरोले पुरेको थियो । ‘हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौं,’ स्थानीय एकप्रसाद श्रेष्ठले भने, ‘उतिबेला कसैले सुनेनन । अहिले यस्तो अवस्था भयो ।’
भवन निर्माण जिम्मा पाएको नयाँबाटो सूर्योदय जेभीका सञ्चालक कुलराज पोख्रेलले कमजोर जमिन र समयमा काम गर्ने वातावरण नहुँदा क्षति भएको बताउनुभयो । ‘गत भदौमै हस्तान्तरण गर्नुपर्ने हो,’ उहाँले भन्नुभयो, ‘सुरुमै जमिन खार्न नदिएर एक वर्ष काम रोकियो,’ उहाँले भन्नुभयो, ‘कुनैबेला स्थानीयको विवादले गत हिउँदमा बजेट नभएर काम रोकियो । बर्खा लागेपछि बजेट आयो, अहिले पहिरोले बिजोग छ ।’